काठमाडौं : भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड (१९) विरुद्धको भ्याक्सिन दिने भएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ । भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले बताउनुभयो ।
पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ । जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने मन्त्री त्रिपाठी बताउनुभयो ।
उहाँका अनुसार खोप ल्याउने सबै तयारी पूरा भइसकेको छ । उहाँले यो सहयोग नेपाल र भारतबीच मित्रताको एउटा अनुपम उदाहरण भन्दै भारत सरकारलाई धन्यवाद दिनुभयो ।
’यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै–धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ, ’उहाँले भन्नुभयो ।
उहाँले भ्याक्सिन खरिदमा कुनै जटिलता नभएको समेत बताउनुभयो । मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ । बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडी बढाउने समेत उहाँले बताउनुभयो । कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारको तयारी छ ।
भारतले नेपाललगायत भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
