(Wednesday 28th of October 2026)
`

छाउगोठ भत्किए पनि चेतनाको कमीका कारण प्रथा कायमै

  • सगरमाथा गन्तब्य
  • 16.1K
    SHARES

    बाजुरा, माघ ६ गते । महिनावारी भएका बेला सुत्नका लागि प्रयोग हुँदै आएका बाजुराका अधिकाशं छाउगोठ भत्किएपनि धामीझाँक्रीको डरमा प्रथा भने अहिलेसम्म कायमै छ । वि.सं. २०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिकाका –९ पाण्डुसैनको अगाउँपानीस्थित छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो ।
    त्यो घटनापछि छाउगोठ भत्काउन गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा रहेका नौ वटै स्थानीय तहमा छाउगोठ भत्किए तर धामीझाँक्रीका डरले महिनावारी भएका बेला महिलाहरुले घरमा बस्न नमानेपछि छाउप्रथा कायम रहँदै आएको हो ।छाउगोठ भत्काउने अभियान सुरु भएपछि महिनावारी भएका बेला अधिकांश महिला आ–आफ्नै घरको कोठामा सुत्न थालेका थिए ।
    अभियानले सुस्त गति लिँदा धामीझाँक्रीले घरमा अनिष्ट भएको भन्दै रिसाउन थालेपछि अहिले अधिकाशं महिला त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका –८ का स्थानीय मीना सार्कीले बताउनुभयो । २०७५र७६ सालमा १६८ र २०७६ र०७७ सालमा ३४३ गरी जम्मा ५११ वटा छाउँगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनमा प्रहरी, स्थानीय र जनप्रतिनिधिलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि बाजुरामा ५११ वटा छाउगोठ भेटिएका थिए ।
    अधिकांश जनप्रतिनीधि समेत अहिले आ–आफ्नो स्थानीय तहमा महिलाहरुलाई महिनावारी भएको समयमा घरमै सुताउने अभियानमा लागि परेका छन् ।
    तर पनि धामीझाँक्री र पुजारीका घरमा महिलाहरु भने बाहिर त्रिपाल हालेर बस्ने गरेको सार्कीले बताउनुभयो । महिनावारी भएका बेला घरमा सुतेपछि देवता रिसाउँछ भन्दै धामीझाँक्रीले डर देखाउन थालेपछि त्रिपाल हालेर बाहिर सुत्न थालेको बुढीगङ्गा नगरपालिका –८ का पार्वती सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, छाउगोठ भत्काउने अभियान सुरु गरेका बेला आफूलाई घरमा बसाल्यो ।
    अहिले त्यो अभियान सुत्त भएपछि आफूलाई फेरि छाउगोठमै सुत्नुपर्छ भनेपछि ५ दिनसम्म त्रिपाल हालेर बाहिर बस्न बाध्य भएकी छु । महिनावारी भएका बेला घरमा गाई भैसी बिरामी भएभन्दै घरका रिसाउन थालेपछि आफु छाउगोठमै सुत्नु बाध्य भएको सार्कीले बताउनुभयो ।
    बाजुराको बूढीगङ्गा नगरपालिकाका तीमाडा,जुवापानी , सेलापाखा, पाल्वाडा, बदेडा ,भण्डारगाउँ, सिगाडा, नुवाकोट र झाली लगायतका ठाउँका महिला महिनावारी भएका बेला दही मही जस्ता पौष्टिक खानेकुरा अझै खान पाउँदैनन् ।
    महिलालाई महिनावारी भएका बेला दूध दही दिएपछि गाई भैसी मर्छन् भन्ने कुसंस्कार पहिलादेखि अहिलेसम्म जीवितै रहेको हुनाले उनीहरु यस्ता पौष्टिक चिज खान पाउँदैनन् । बुढीगङ्गा नगरपालिका अधिकांश वडामा प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा झण्डै ५७ वटा छाउगोठ भत्काए पनि केही मात्रमा अझै छाउगोठ रहेको स्थानीय राजेन्द्र रावलले बताउनुभयो ।
    उहाँले भन्नुभयो, छाउगोठ नभत्काएर महिनावारी भएका बेला छाउगोठमै सुत्ने गरेको पाइएमा सरकारी सेवा सुविधा रोक्का गर्ने भनिएको भए पनि अहिलेसम्म छाउप्रथा कायमै रहँदै आएको हो । जिल्लाका अन्य स्थानीय तहका महिलाहरुले सरकारको नीतिनियम पालना गर्दै आएको भए पनि धामीझाँक्रीको पकेट क्षेत्रका महिला भने अझैँ छाउगोठमा सुत्न बाध्य छन् । घरमा गाईभैँसी बिरामी भए पनि अहिले धामीझाँक्रीले महिलाहरुलाई नै दोष दिन थालेका छन् ।उसो त जिल्लामा महिनावारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले पनि धामीझाँक्रीहरुलाई महिनावारी कुप्रथा हो यस्लाई अन्त्य गर्नुपर्छ भन्ने कुरामा तालिम दिँदै आएका हुन् ।
    छाउगोठमा सुतेको जानकारी आएमा उनीहरुले पाउने सेवा सुविधा रोक्का गर्नुका साथै आवश्यक कानुनी कारवाहीको प्रक्रियालाइ अगाडि बढाइने योजना रहेको बुढीगङ्गा नगरपालिका – ८ का वडा सदस्य सुरेन्द्र थापाले बताउनुभयो । (गोरखापत्रबाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology