(Wednesday 28th of October 2026)
`

बर्दियाको राजापुर, गुलरिया र बढैयातालमा शैक्षिक सामाग्री वितरण

  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    नेपालगञ्ज, पुस २४ गते । बर्दियाको राजापुर, गुलरिया र बढैयातालका विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई बाँके युनेस्को क्लबले १२ लाख रुपियाँ भन्दा बढीको शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरेको छ ।
    प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित बाल विवाह, चाँडो हुने विवाह र जबरजस्ती विवाह परियोजना अन्तर्गत सो शैक्षिक सामाग्री वितरण गरिएको हो ।
    राजापुर, बढैयाताल, गुलरिया र बाँसगढीमा २०१ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको तथा राजापुर, बढैयाताल र गुलरियाका ६७ जनालाई चिसोमा न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
    राजापुरमा विहिबार आयोजना गरिएको एक समारोहमा भेरी मावि राजापुर, नेरामावि नयाँ गाउँ राजापुर र पदम कुमारी मावि राजापुरका ४० जना बालबालिकालाई सो शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरियो ।
    क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजापुर नगरपालिकाका उपमेयर मनकला चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले शैक्षिक सामाग्री वितरण गर्नुभयो ।


    सो अवसरमा राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखको पनि उपस्थिति रहेको थियो ।
    उक्त अवसरमा ४० जना बालबालिकालाई जनही एउटा व्याग, एउटा स्वेटर, एक सेट ट्रयाक सुट, एउटा टोपी, एक जोड विद्यालय पोशाक, पेन्सिल, कपी र पोशाक सिलाउन नगद रकम प्रदान गरिएको थियो ।
    यसैगरि सोही अवसरमा राजापुरकै विद्यालय बाहिरका तथा जोखिममा रहेका २५ जना बालबालिकालाई न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको थियो ।  त्यसअघि गुलरियामा आयोजित एक कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले १८ जना बालबालिकाहरुलाई टूयाक सुट वितरण गर्नुभयो ।
    सोही प्रकारले बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले पनि सो गाउँपालिकाका बालबालिकालाई ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । सो अवसरमा पनि शिक्षा शाखा र सामाजिक विकास शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।
    बर्दियाका विभिन्न स्थानमा आयोजना गरिएका वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, क्लबका कर्मचारी अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology