नेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भार कार्यलाई अगाडी बढाउन वडाले चासो देखाएको छ ।
जिर्ण अवस्थामा रहेको आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयले वडा सदस्य दिपक श्रेष्ठको नेतृत्वमा नापनक्सा गर्ने कार्यलाई सोमबार शुभारम्भ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ वडा कार्यालयका सब–इन्जिनियर प्रियंका आचार्यले स्थानीय जिर्ण रहेका आस्थाका धरोहरहरुको नाप नक्सा लिने कार्य गरेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडासचिव प्रकाश पन्थीका अनुसार मंगलवार नाप, नक्सा गरी कार्य थालनी गरिएको बताउँदै भन्नुभयो– ‘अब छिट्टै बजेट विनियोजित गरी पौष मसान्तदेखि कार्य थालनी गर्ने योजना तय भएको छ उहाँले भन्नुभयो ।’
वडा सचिव पन्थीले पुरानै उपभोक्ता समितिलाई प्राथमिकता दिने बताउँदै गठन गरिएको उपभोक्ता समितिले यस आर्थिक वर्ष अनुसार पुनः भेलाको आयोजना गरी हाल समावेश गरिएका स्थानहरुलाई आफ्नो निर्णयमा समावेश गरी आउनु पर्ने बताउनुभयो ।
जिर्ण अवस्थामा रहेका आस्थाका धरोहरलाई वडा कार्यालय मार्फत मर्मत सम्भार गर्ने चासो देखाए साथै वडाबासीहरुमा खुसीको लहर छाएको छ । स्थानीय वडाबासी हितेश भारतीले अब छिट्टै स्थानीय आस्थाका धरोहरहरुलाई मर्मत गर्न तर्फ सबैको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।
विगतमा गठन गरिएको मन्दिर जिर्ण मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माले वडा कार्यालयले दिएको निर्देशन बमोजिम हामीले पुर्नगठन गरी वडा कार्यालय समक्ष पेश गर्ने छौं तर विगत जस्तै यस पटक बजेट अभाव हुनु हुदैन उहाँले भन्नुभयो । वडाले देखाएको चासो प्रती वडाबासी खुसी रहेका छन् ।
