नेपालगन्ज ०५ मंसिर – नेपालगञ्जमा भोली नेपालगन्ज म्याराथन हुने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्डसले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस पटकको म्याराथन नेपालगञ्ज म्याराथनको छैठौं संस्करण हो । क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले म्याराथनमा सागका स्वर्ण बिजेता किरणसिंह बोगटी, गोपि कार्की, गतबर्षका बिजेता नवराज साउद लगायत २० बढी सहभागी हुने बताउनुभयो । कोभिड–१९ का कारण नेपालगञ्ज म्याराथनमा यसअघिका केही ईभेन्ट हटाइएको जानकारी दिनुभयो । यसवर्ष पुरुष खुल्ला म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रम मात्रै समावेश गरिएको छ । तत्कालिन विद्रोही र सरकारबीच बिस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
यस प्रतियोगिताका प्रदेश १, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत राष्ट्रियस्तरका चर्चित धावकहरुले भाग लिदै आएका छन् । नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोश्रोमा सेनाकै कृष्ण बस्नेत, तेश्रोमा जुम्लाका दुर्गा बुढा, चौथोमा नेपाल पुलिसका भुमिराज राई र नेपाली सेनाका नवराज साउद विजेता हुनुभएको थियो । नेपाल एथ्लेटिक्स सङ्घले मान्यता दिएको नेपालगञ्ज म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषदले समेत स्वीकृत प्रदान गरेको छ । नेपाल ओलम्पिक कमिटीले यसलाई ओलम्पिक छनौटका रुपमा लिएको छ । सो अवसरमा म्याराथनको टीसर्ट सार्वजनिक गरिएको छ । म्याराथन दौड नेपालगन्जको विपी चोकबाट भोली विहान साढे ६ बजेदेखि सुरु हुने आयोजक टिमले जनाएको छ ।
