- बाल बिक्रम कार्की
रौतहट, २२ कात्तिक । जिल्ला प्रशासन कार्यालय रौतटहले यसअघि जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिएको छ । सो कार्यालयले एक सुचना जारी गर्दै आजदेखि लागू हुनेगरी यहीँ मंसिर १७ गतेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएको हो । सो कार्यालयले गत असोज १ गते साउन २४ गतेदेखि जारी निषेधाज्ञालाई केही परिमार्जित गर्दै निरन्तरता दिएको थियो । हाल जिल्लाभर लागू भइरहेको सोही निषेधाज्ञालाई थप केही परिमार्जन गरेर मंसिर १७ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँले जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जिल्लावासी र सरोकारवालाहरुलाई सचेत गराउन निषेधाज्ञालाई निरन्तरता दिएको बताउनुभयो । हाल जारी भएको निषेधाज्ञा वाध्यात्मक नभइ सचेतनात्मक भएको प्रष्ट पार्दै उहाँले यसको अक्षरस पालना गरेर कोरोना नियन्त्रण तथा रोकथाममा सघाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।
‘कोरोना भाइरसबाट आफु, आफ्नो परिवार र आफ्नो समुदायलाई जोगाउने जिम्मा हामी सबैको हो’ उहाँले भन्नुभयो, ‘त्यसैले यो कोरोना भाइरस विरुद्धको युद्धमा हामी सबै एकजुट भएर लाग्नुपर्छ अनिमात्र विजय हासिल गर्न सकिन्छ ।’ उहाँले कोरोना भाइरस फैलन नदिन यो फैलन सक्ने कृयाकलाप नगर्न/नगराउन जिल्लावासीलाई आग्रह गर्दै सानो लापरवाहीले ठुलो दुर्घटना हुनसक्नेतर्फ सचेत हुनुपर्नेमा जोडदिनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० तथा संकामक रोग ऐन, २०२० को दफा ३ र ४ अनुरुप जारी भएको सो निषेधाज्ञा अन्र्तगत सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना गर्न, भीडभाड हुने गतिविधि स् जस्तै जात्रा, महोत्सव, भोजभतेर र हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शन हुने जस्ता कार्य गर्न गराउन, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु संचालन गर्न निषेध गरिएको छ ।
त्यसैगरी चाडपर्व लगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु, सबै प्रकारका सभा, गोष्ठी तालिम, सेमिनार, मापदण्ड र प्रोटोकल विपरितका कार्य , सिनेमा हल, पार्टी प्यालेस, मनोरंजन स्थल, शैलुन, व्युटिपार्लर स्पा, जिमखाना, प्रदर्शनी, पुस्तकालय, संग्रहालय संचालन गर्न, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्न र श्रमिक र कामदारको ओसार पसार तथा प्रयोग गर्न एवम् विद्यालय शिक्षा सम्बन्धी आकास्मिक कार्ययोजना, २०७७ तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ विपरित कार्य गर्न पनि सो निषेधाज्ञाले रोक लगाएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रामनरेश साहले बताउनुभयो । न्युज २४ नेपालबाट
