(Wednesday 28th of October 2026)
`

आज बुवाको मुख हेर्ने दिन

  • सगरमाथा गन्तब्य
  • 17.3K
    SHARES

    काठमाडौँ, ३ भदाै । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।आज छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

    आमाबाबु नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । तर याे वर्ष काेराेनाकाे कहरले गर्दा मन्दिहरू बन्द रहेका छन् । विगतका वर्षहरूमा मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरि मनाइँथ्याे । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्थ्याे तर याे वर्ष काेराेनाका कारण गोकर्णेश्वर मन्दिर खुल्ने छैन । मेला पनि लाग्ने छैन । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

    कुसेऔंसी

    कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

    कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

    मोती जयन्ती

    आजै राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology