नेपालगन्ज १६ असार – बाँकेको नरैनापुर गाउँपालिकामा करिव ३ दशकपछि बिजुली बत्ति बलेको छ । नरैनापुर गाउँपालिकामा करिव ३ दशक पहिले बत्तिको पोल गाडेको थियो । हरेक स्थानिय चुनावमा विजुली बत्तिको नारा प्रमुख बन्थ्यो । लामो समय पश्चात नरैनापुरमा विजुली बल्न सफल भएको छ । कोरोना भाइरसका कारण विश्व नै कोरोनाको कहरसंगै नेपालमा पनि कहर चल्दै आएको छ । कोरोनाको कारण नेपाल सरकारले लकडाउन घोषणा गरेको ३ महिना बढि भयो । लकडाउनलाई केही खुकुलो बनाएको सरकारले लकडाउन कै क्रममा ठुलो पाठ समेत सिकाएको बाँकेको नरैनापुरबासी बताउँछन् । कोरोना नआएको भए अझै पनि नरैनापुरमा विजुली बल्ने थिएन एक स्थानियले भन्नुभयो ।
बाँकेको नरैनापुरमा पहिलो पटक एकैदिन ४७ जना कोरोना देखेपछि भयावाह स्थिति भएको थियो । नरैनापुरमा मात्र ११६ जना कोरोना संक्रमित देखिएपछि नरैनापुरमा आइसोलेशन र थप क्वारेन्टाइन अनिवार्य देखिएको थियो । आइसोलेशन त बनाउने तर विजुली बत्तिको समस्याले आइसोलेशन राख्न समस्या भएको थियो । विजुली बत्तिको समस्या देखिएपछि स्थानिय प्रशासन, स्थानिय सरकार पनि तातियो अनि काम सुरु गर्न थालियो । १५ दिनमा नयाँ पोल र बत्तिको तार ४१ किलोमिटर नरैनापुरसम्म पुग्यो ।

विजुली ल्याउन कति मन्त्री फेरिए तर नरैनापुरबासीको सपना पुरा भएन । पुर्व कृषि मन्त्रि प्रेम भण्डारीले २०५१ सालमा विजुलीको पोल हालेपछि ३ दशकसम्म जस्ताको त्यस्तै थियो पोल हालेको तिन दशक पुग्दा कयौ मन्त्रि फेरिए तर नरैनापुरमा विजुली पुगेन । पुर्व सिचाई राज्यमन्त्री दिनेश चन्द्र यादवको पालामा उर्जा मन्त्री लगायतलाई भेटेर पहल गरे । कार्यकाल सकियो तर विजुली बलेन । प्रदेश सभासद कृष्ण केसी नमुना पालामा विजुली बल्न सफल भयो । मंगलबार प्रदेश सभासद नमुनाले बिजुलीको स्विच थिचेर बत्तिको उद्घाटन गर्नुभयो ।
राप्तीपारी बघौडासम्मको सडक र विद्युत तिन दशकदेखि निर्वाचनको नारामा मात्र सिमित थियो । यो विषयमा जिल्लाका विकासप्रेमी पत्रकारहरुको हेडलाइन र मुख्य समाचार बन्दै आएको थियो, तर अहिले सबैको सामुहिक प्रयासले सो क्षेत्रका जनताको चाहना पुरा भएको नरैनापुर गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक साहले भन्नुभयो । नरैनापुर क्षेत्रमा भएको बिद्युतीकरणले कृषि र उद्योगको सम्भावनाको ढोका खोलेको समेत उहाँले बताउनुभयो । बिद्युत बिस्तारसंगै सडक निर्माणका कामले पनि पुर्णता पाएकोले नरैनापुर बाँकेको मुल प्रवाहमा जोडिएको प्रमुख साहले बताउनुभयो । अब नरैनापुर दुर्गम नरहेको जनाउँदै उहाँले अझै केही पुलहरु निर्माण आवश्यक रहेको हुँदा अब सो तर्फ ध्यान केन्द्रित गरिने बताउनुभयो । विजुली उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, स्थानिय नेता, समाजसेवी लगायतको सहभागिता रहेको थियो । बत्ति बलेपछि स्थानिय हर्षित भएका छन् ।

