नेपालगन्ज १९ बैशाख — नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका चार स्थान सिल गरिएको छ । शुक्रवार नेपालगन्जका एकजना पुरुषमा र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज शहरका चार स्थानलाई सिल गरिएको हो । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उहाँलाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुनुहुन्छ । उहाँले लामो समय नेपालगन्ज आसपासका मस्जिद र व्यक्तिहरुसंग घुलमिल गरिएको जानकारी आएको छ ।

नेपालगन्जको डिएसपी रोड, वडा नं. ८ , धम्बोजी र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनुभयो । संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आउनुभएको थियो । संक्रमित व्यक्ति थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै ४ स्थान सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगन्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि धम्बोझी क्षेत्र सिल गरिएको हो । संक्रमित दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ ।

