नेपालगन्ज १९ चैत्र
आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व धुमधामका साथ मनाइदै छ । नेपालमा लकडाउन चलिरहदा पनि थारु समुदायमा आजकै दिन चैते दशैको रुपमा गाउँटोलमा दशैको रुपमा मनाइदै छ । आजकै दिन थारु समुदायमा बंगुर (जिता) मारेर धुमधामका साथ चैते दशै मनाउने र नजिकैको मन्दिरमा पुजापाठ गर्ने मेला घुम्ने गरेको बाँके कोहलपुरका चर्चित थारु गायक विश्वसागर परियारले बताउनुभयो । विहानै गाउँमा एक वटा सुङगुर काटेर गाउँभरीका मानिसले बाँडफाड गरि चैते दशै मनाउनलाई मासु लगायत विभिन्न परिकार बनाउने र रमाउने गरेको उहाँले बताउनुभयो ।
नवमी अर्थात चैते दशै श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बुधवार भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरे ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।

रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी बत्तीसपुतलीस्थित श्री रामचन्द्र मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि आज पूजा आराधना गर्ने भक्तजनको भीड लाग्छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ ।
यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।
आजैकै दिन चैते दशै पनि परेकाले हिन्दूधर्मावलम्वीहरुले चैते दशै पनि धुमधामका साथ मनाइरहेका छन् । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।
