(Wednesday 28th of October 2026)
`

युवा नेता केसीद्वारा ९५ क्वीन्टल चामल सहयोग

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज १२ बैशाख : लकडाउनले पूरै देश अस्तव्यस्त छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका, गरिब र अतिविपन्न परिवारलाई दैनिक रुपमा हातमुख जोर्न हम्मेहम्मे परिरहेको अवस्था छ । हुन त सम्बन्धित स्थानीय सरकारले आफ्नो मातहतमा परेका जनतालाई राहत वितरण गरिरहेको छ । तर पनि केही स्थानीय तहमा भने समस्यामा परेकालाई सघाउने नाममा अनियमितता गरेको थुप्रै घटना सार्वजनिक भइरहेका छन् । राप्तीसोनारी गाउँपालिकामा त्यस्तो घटना सार्वजनिक नभए पनि केही स्थानीय तहले वितरण गरेको राहत पहुँचवालाले पाउने तर वास्तविकले नपाएको घटना विभिन्न मिडिया र सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेसका युवा नेता पोषण केसीले भने व्यक्तिगत रुपमा राप्तीसोनारी गाउँपालिकालाई ९५ क्वीन्टल चामल दिएर उदाहरणीय काम गर्नुभएको छ । राप्तीसोनारी गाउँपालिकामा रहेका कुनै पनि जनताले दैनिक रुपमा खाना खानकै लागि पिरोलिन नपरोस् भन्ने उद्देश्यले ९५ क्वीन्टल चामल सहयोग गरेको केसीले बताउनुभयो ।

    उहाँले गाउँपालिकाद्वारा निर्देशित एकद्वार प्रणालीलाई ध्यानमा राखेर जनसंख्याको आधारमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लाई १५ क्वीन्टल चामल उपलब्ध गराउनुभएको छ । त्यस्तै २ नम्बर वडा कार्यालयदेखि ९ नम्बर वडा कार्यालयलाई प्रति वडा १० क्वीन्टल चामलका दरले सहयोग गर्नुभएको छ । ‘देशमा जारी लकडाउनका कारण गाउँका थुप्रै जनता अहिले अप्ठ्यारोमा छन् । उनीहरुलाई दैनिक रुपमा के खाने भन्ने चिन्ताले पिरोलिरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले जनताको पीडा र मर्मलाई बुझ्नु जरुरी छ,’ युवा नेता केसीले भन्नुभयो, ‘हामी गाउँवासीले एकलाई पर्दा अर्कोले सहयोग नगरे हाम्रो जीवन व्यर्थ हो ।’ केही स्थानीय तहमा पदको दुरुपयोग गर्दै नातावाद र कृपावादको आधारमा राहत वितरण भइरहेको कुरालाई इंगित गर्दै उहाँले भन्नुभयो,‘धेरै स्थानीय तहमा नातावाद र कृपावादका आधारमा राहत वितरण भएको समाचारहरु आइरहेका छन् । यस्तो महाविपतको बेलामा राजनीति, नातावाद र कृपावादबाद माथि उठेर सोच्नु पर्ने समय हो । नत्र भने हामीलाई यस समयले धिक्कार्नेछ ।’

    राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले युवा नेता केसीले गरेको कामको प्रशंसा गर्दै भन्नुभयो,’ यस्तो महाविपतको बेलामा गाउँपालिकावासीलाई चामल सहयोग गरेर उदाहरणीय काम गर्नु भएको छ । उहाँ जस्तै युवा नेता सबै ठाउँमा भइदिने हो भने कसैले खाली पेट रात बिताउनु पर्दैन । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत, नेपाली कांग्रेस राप्तीसोनारीका सचिव तुलाराम खत्री, वडा सदस्यहरु र कार्यकर्ताको रोहवरमा चामल सहयोग गरिएको हो । युवा नेता केसी बाँके जिल्लाका लोकप्रिय नेतामा पर्नुहुन्छ भने उहाँ पत्रकारिता पेशा अंगाल्दै राजनीतिमा प्रवेश गर्नुभएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology