बाँके, १० वैशाख
समस्यामा परेकालाई सघाउने नाममा अनियमितता गरेको थुप्रै घटना सार्वजनिक भैरहेका छन । स्थानीय तहले वितरण गरेका राहत पहुचवाला पाउने तर वास्तविकले नपाएको गुनासा बढदै छन । यस्तो अवस्थामा सीतापुरका युवाहरुले भने स्वस्फुत रुपमा वास्तविक पिडितलाई राहत बाडन सक्रिय भएर लागेका छन । सीतापुरका युवाहरुले आफनो ब्यक्तिगत रकम उठाएर सुरु गरेको राहत कोष अहिले खजुरामा नमुना बन्दै गएको छ ।
स्वस्र्फुत रुपमा संगठित भएका युवाहरुले खजुरा गाउँपालिकाको २ नम्बर वडाका अति विपन्न र समस्यामा परेका नागरिकलाई चामल, दाल, नुन, सावुन, तेल लगायतका सामाग्री वितरण गरिरहेका छन । र समस्यामा परेकालाई घरमै गएर सहयोग गरिरहेका छन ।
सन्त खत्रीको अध्यक्षतामा गठन गरिएको सीतापुर विपत राहत कोष समिति खजुरा २ ले मंगलबार सम्म १ सय ८० घरधुरीलाई राहत वितरण गरेको छ । समितिमा अहिले खजुरा सीतापुरकै २४ जना युवाहरु सक्रिय भएर राहत वितरणमा सघाइरहेका छन । गत चैत १९ गते समितिका युवाहरुले ब्यक्तिगत रुपमा आर्थिक संकलन गर्न सुरु गरेका थिए । ब्यक्तिगत रुपमा खाद्य सामाग्री र ६७ हजार ५ सय रकम संकलन भएपछि उत्साही भएर काम गर्ने उर्जा थपिएको बताउँछन समितिका अध्यक्ष सन्त खत्री । उनले भने, ‘हामी राजनितिक रुपमा जसमा आस्था राखेपनि मानवियताको नाताले सहयोग गर्नु पर्छ । यस्तो बेला बेलामा स्थानीय गाउँपालिकाले वितरण गरेका ब्यक्ति बाहेक अति विपन्न लाई हामीले छनोट गरेको सहयोग गरेका छौं । जो अति नै विपन्न छन । जसको घरमा खानाको समस्या छ । त्यस्तालाई घरमै गएर भएपनि सहयोग गरेको छौं । यसमा खजुराका आम युवाहरुले देश विदेशबाट सहयोग गर्नु भएको छ ।’
राहत कोष समिति मार्फत सन्त खत्रीसँगै उपाध्यक्ष कमल सिह ठकुरी, सचिवमा नरेन्द्र ददेल, कोषाध्यक्षमा रमेश थापा, सदस्यका रुपमा राजकिशोर महतारा, मनप्रकाश रेग्मी, प्रेमु खनाल, डिबी तामाङ, विजय बुढा लगायतका युवा अहिले सक्रिय भएर जनतालाई राहत वितरणमा सहयोग गरिरहेका छन ।

समितिका उपाध्यक्ष कोमल सिह ठकुरीले स्थानीय स्तरमा युवाहरुको सक्रियतामा गरिएको सहयोगले जनतामा सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘गाउँमा थुप्रै जनता अहिले अप्ठयारोमा परेका छन । यस्तो अवस्थामा हामीले जनताको पीडालाई बुझनु पर्छ । प्रत्येक टोलमा हामीले उपसमिति बनाएर काम गरेकोले वास्तविक विपन्न सम्म पुग्न सफल भएको छौं । अझै धेरै जनतालाई हामीले सहयोग गर्न सकेको छौं । यसमा दोस्रो चरणमा उनीहरुलाई वितरण गर्नेछौं ।’
राहत संकलनमा सामाजिक संजालले सहयोग गरेको बताउँछन समितिका अध्यक्ष खत्री । उनले भने, ‘विदेश भएका सीतापुरका युवाले धेरै सहयोग गर्नु भएको छ । हामीलाई विदेशबाट सहयोग गर्नु भएको छ । अझै धेरैले यसमा कसरी सहयोग गर्ने भनेर चाँसो जगाएको छ ।’
अहिले सम्म संकलन भएको २ लाख ५३ हजार ५ सय ७ रुपैयाँ र केहि खाद्य सामाग्रीले झन्डै १ सय ८० परिवारलाई राहत वितरण गरिएको समितिले बताएको छ । समितिले विपन्न परिवारलाई पनि सदस्य संख्याको आधारमा क, ख र ग वर्ग छुटयाएर राहत वितरण गरिरहेको छ । पहिलो समुह क मा परेको परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र एउटा साबुन, ख वर्गलाई १५ केजी चामल, १ लिटर तेल, १.५ केजी दाल, १ केजी नुन र १ साबुन दिइएको छ । ग वर्गमा परेकालाई १० केजी चामल, १.५ लिटर तेल, १ केजी दाल, १ केजी नुन र १ सावुन वितरण गरिएको समितिका सदस्य राजकिशोर महताराले बताए । मंगलबार योगीनी मावि गौघाटमा राहत वितरण गरिएको छ । जसको संयोजन महताराले गरेका थिए । युवाहरुले दिएको राहतले गाउँका विपन्न परिवारलाई सहयोग पुगेको बताउँछन महतारा । उनले भने, ‘लकडाउनमा सीतापुरका युवाले उत्कृष्ट काम गरेका छन । यस्तो विपतको बेला सबै मिलेर अप्ठयारोमा परेकालाई सहयोग गर्नु पर्छ । यसमा सबैलाई सहयोग गर्न हामी आग्रह गर्दछौं ।’
