नेपालगन्ज ०९ बैशाख
प्रहरी मेरो साथी भन्ने नारा जिल्ला प्रहरी कार्यालय बाँकेले प्रमाणित गरिदिएको छ । कोरोना भाइरसले अहिले विश्व नै त्रसित अवस्थामा रहेको बेला नेपालमा पनि संक्रमणको जोखिम रोकथामका लागि अनेकौ प्रयास भैरहेको छ । लकडाउनको २९ औं दिन पैदलयात्रुलाई दुख भएको जनगुनासो आएपछि प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा जिल्ला प्रहरी कार्यालय बाँकेले हेल्प डेस्क नै स्थापना गरि भोकभोकै पैदल यात्रा गर्ने यात्रुलाई पानी, विस्कुट, चाउचाउ वितरण गर्दै आएको छ । नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको २९ औं दिन बाँके प्रहरीको भुमिका सह्रानिय रहेको देखिन्छ । लकडाउन सफल बनाउन चोक चोकमा प्रहरी तैनाथ अवस्थामा छन् भने घाम पानी नमानि जनताको सेवामा तत्पर रहेको देखिन्छ । संक्रमणको जोखिम मोलेर पनि प्रहरीले जनताको सेवामा कुनै कमि नराखेको स्थानिय नागरिकले बताएका छन् । जनताले सोचभन्दा बढि कार्य प्रहरीले गरिरहेको छ तर जनता नै अटेरी गरिरहेको नेपालगन्ज वडा नं. ७ का बुद्धिराम यादवले भन्नुभयो । बैशाख ७ गतेदेखि नेपालगन्जको धम्बोझी चोकमा हेल्प डेस्क स्थापना गरि पैदलयात्रुलाई पानी, विस्कुट र चाउचाउ वितरण गरि सेवा प्रदान गर्र्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, सामुदायिक प्रहरी र महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा बाँके धम्बोझी चोकमा हेल्प डेस्क स्थापना गरि विपदमा परेका यात्रुलाई मल्हम लगाउने कार्य गरिरहेको छ । हेल्पडेस्क स्थापना गरि पानी, चाउचाउ र विस्कुट प्रदान गर्ने सहयोगी संस्था, नेपालगन्जका सम्पुर्ण संघ संस्था, व्यापारी, नागरिक समाजलाई जिल्ला प्रहरी कार्यालय बाँकेले धन्यवाद ज्ञापन गरेको छ ।
