(Wednesday 28th of October 2026)
`

जेठ १५ अगाडि विद्यालय खुल्दैनन्

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    काठमाण्डौं ५ बैशाख कोरोना भाइरस (कोभिड–१९) का कारण अरूजस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । साथै, कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधँै त्रसित हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’

    लकडाउन खुलेको एक सातामा रिजल्ट

    मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए । प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए । अधिकांश विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए । अधिकांश विद्यालयले उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारिसकेको जानकारी आफूहरूले पाएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

    नतिजाका लागि लकडाउन खुल्नु पर्दैन–शिक्षाविद्

    तर, एक महिनासम्म परीक्षाको नतिजा रोकिँदा विद्यार्थीमा बेचैनी बढेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद् डा. मनप्रसाद वाग्ले सामाजिक दुरी कायम राखेरै परीक्षाको नतिजा सार्वजनिक गर्न सकिने बताउँछन् । ‘आफ्नो परीक्षाको नतिजा के भयो होला भनेर बसिरहेका विद्यार्थी नतिजा आएपछि खुसी हुन्छन्’ वाग्ले भन्छन्, ‘भइसकेको परीक्षाको नतिजा रोकेर विद्यार्थीलाई थप अन्योलमा राख्नुहुँदैन ।’ कोभिड–१९ को महामारीका कारण लकडाउन गर्नुपर्ने अवस्था आएपछि शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत भित्रै सम्पन्न गर्न निर्देशन दियो । मन्त्रालयको निर्देशनअनुसार लकडाउनअघि नै विद्यालयहरू परीक्षा सञ्चालन गरे ।

    जेठ १५ अगाडि विद्यालयहरु खुल्दैनन्

    यसरी नतिजा सार्वजनिक गरेको डेढ हप्ताभित्र भर्ना प्रक्रिया सम्पन्न गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । कोभिड–१९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने अवस्थामा अनलाइन, टेलिफोन वा मोबाइलबाटै विद्यार्थी भर्ना गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, विद्यालय खुलेर पढाइ सुरु हुन भने थप समय लाग्ने देखिएको छ । निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन)का अध्यक्ष टिकाराम पुरी भन्छन्, ‘वैशाख १५ मै लकडाउन खुलेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’ लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने र त्यसपछि भर्ना लिने मन्त्रालयको प्रस्तावमा आफूहरुको सहमति रहेको भन्दै उनले भने, ‘लकडाउन खुलेपछि रिजल्ट प्रकाशन, भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन चाहिन्छ । यसरी हेर्दा वैशाख १५ मा लकडाउन खुलेपछि जेठ १५ अगाडि विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ ।’ यसका साथै लकडाउन कसरी खुला गर्छ र विद्यालय सञ्चालनबारे सरकारले गर्ने निर्णयमा पनि भर पर्ने उनले बताए । विद्यालय खोल्न अझ समय लाग्ने अवस्था आए अनलाइन कक्षा सञ्चालन लगायतका विकल्पमा मन्त्रालय र आफूहरुबीच छलफल भइरहेको प्याब्सनका अध्यक्ष पुरीले जानकारी दिएका छन् । अनलाईनखबरबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology