सुपर मार्केटले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा ह्वाट्सअप, भाइबर तथा म्यासेज बाट उपभोक्ताले माग गरेको खाद्यान्न सामग्री स्टोरकै दरमा ढुवानी शुल्क (अतिरिक्त शुल्क) नलाग्नेगरी यथावत मूल्यमै घरमै सेवा दिने गुरुङले बताए । उनले भने ‘हाम्रो व्यापार व्यवसाय मात्र होइन, सेवापनि हो । अहिले देश र मुलुकबासी संकटमा छौ । यस्तो समयमा हामीले हाम्रो स्थानबाट जे–जसरी सक्छौं त्यसका लागि तयार छौं ।’ सुपर मार्केटले टंगाल स्थित स्टोरबाट निःशुल्क डेलीभरी सेवा सुचारु गरेको हो । उपभोक्ताले नगद वा कार्डमार्फत घरमै भुक्तानी गर्नसक्ने पनि भाटभटेनीले जनाएको छ ।

शुक्रबार सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले नबिल बैंकका सिइओ अनिल केसरी शाहको घरमा स्वयम् खाद्य सामग्री पुर्याइ सेवाको सुरुवात गरेका हुन् । गुरुङले सरकाले खाद्यान्न स्टोरहरुलाई उपभोक्ता घरमै सामान उपलब्ध गराउन आग्रह गरेपछिसेवा सुचारु गरेको बताए । सेवाका लागि उच्च सतर्कता अपनाउँदै ५०० जना कर्मचारी खटिएको र सुपर मार्केटका करिब ४० वटा भ्यानबाट घर–घरमै अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु मात्र उपलब्ध गराइने समेत उनले बताए । यस अघि कोरोनाको त्रास तथा संक्रमणमा पनि पूरानै मूल्यमा सहज रुपमा सामग्री प्रदान गर्ने प्रतिबद्धता गरेको भाटभटेनीले सोही अनुरुप उपलब्ध गराउँदै नेपाल सरकारले स्थापना गरेको–कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैंया सहयोग गरिसकेको छ भने सामाजिक कार्यलाई निरन्तरता दिदै पहिले निर्माण गरेको महाराजगञ्ज स्थित टिचिङ अस्पतालको इमरजेन्सी भवनमा थप अर्कौ सुबिधा सम्पन्न भवन निमार्णको तयारी समेत गरेको छ ।
