साहिल अन्सारी
नेपालगन्ज ५ चैत्र
विश्वभर तीब्ररुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले विभिन्न १५ बुँदे निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले विभिन्न १५ वटा निर्णय गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
सरकारले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो । यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ । चैत ६ गते देखि सुरु हुने एस. ई. ई. को परिक्षालाई समेत सरकारले अर्को मिति नआउँदा सम्मको लागि स्थागित गरिएको छ ।

त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य त्यसतै कार्यहरुमा २५ जनाभन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ । सरकारले गरेका निर्णयको पालना भए नभएको बारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने भनी जिम्मा दिईएको छ । त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । त्यस्तै यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्न समेत आग्रह गरेको छ ।
