नेपालगन्ज ०४ चैत्र
बाँकेको कोहलपुर बसपार्कमा मंगलबार कोरोना भाईरस सम्बन्धि हेल्प डेस्क स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना (कोभिड (१९) विरुद्ध पूर्वतयारी अपनाउँदै कोहलपुर बसपार्क क्षेत्रभित्र सर्भिलेन्स तथा परामर्श केन्द्र स्थापना गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख अगंत बहादुर शाहीले बाँकेमा कोरोना भाईरस विरुद्ध जमुनाह नाका, सुइया नाका, राँझा विमानस्थल नेपालगन्ज तथा कोहलपुर बसपार्क गरी ४ ठाउँमा हेल्पडेस्क स्थापना गरिएको बताउनुभयो । कोहलपुर नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले बसपार्कमा हेल्प डेस्क स्थापना गरेको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले महामारीका रुपमा फैलिएको कोरोना भाईरस बारे सर्तकता अपनाउन नगरवासीलाई आग्रह गर्नुभयो । कोरोना संक्रमणका दृष्टिले बसपार्क अति सवेदनशिल क्षेत्र भएको बताउँदै मेयर रावतले असगता अपनाउँदै हेल्प डेक्स स्थापना गरीएको बताउनुभयो ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले दैनिक २ सिफ्टमा २ र २ जना कर्मचारी हेल्पडेस्कमा खटाउने ब्यवस्था मिलाईएको बताउनुभयो । हेल्पडेस्कमा बसपार्कमा आउने नयाँ तथा बसपार्कबाट बाहिरीने यात्रुहरुको नमुना परिक्षण (तापक्रम जाँच) गरिने छ ।
