नेपालगन्ज : गुरुङ समुदायको महान पर्व तमु ल्होसार बिहीवार बाँकेको नेपालगन्जमा धुमधामका साथ मनाईएको छ । तमु ह्युल छोज धिं (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समिति बाँकेको आयोजनामा तमु ल्होसार पर्व भव्यका साथ मनाईएको हो । सम्पुर्ण तमु एक हौं भन्ने मुल नाराका साथ नेपालगन्जको बौद्ध गुम्बामा धुमधामका साथ ल्होसार पर्व मनाएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब गजेन्द्र गुरुङले जानकारी गराउनुभयो । तमु तो ल्हो (बाघ बर्ग) ल्होसार पुष १५ २०७८ को शुभकामना आदनप्रदान कार्यक्रम गरि ल्होसार पर्व मनाएको हो । शुभकामना आदनप्रदान कार्यक्रममा गुरुङ समुदायका भेषभुषामा सजिएका युवायुवतीहरुले नृत्य प्रस्तुत गरेका थिए । यस्तै गुरुङ समुदायको परिकार समेत अतिथिहरुलाई खाना दिइएको थियो ।

यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरेको छ । फोनिज बाँकेको आयोजना तथा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरेको हो ।
आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेपछि गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा निशुल्क हेल्थ डेस्क संचालन गरेको फोनिज बाँकेका सचिव लक्ष्मी चौधरीले जानकारी गराउनुभयो । पुष १५ गते गुरुङ समुदायको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजनामा ३ सय बढिलाई निशुल्क सुगर, प्रेसर चेकजाँच गरिनुका साथ सामान्य औषधी प्रदान गरिएको फोनिज बाँके शाखाका सचिब चौधरीले जानकारी गराउनुभयो ।
मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो ।
