(Saturday 25th of July 2026)
`

एमाले महाधिवेशनको बन्द, नेतृत्वमा सहमतिका लागि प्रतिनिधिको दबाब

  • सगरमाथा गन्तब्य
  • 15.6K
    SHARES

    काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनको बन्द सत्र सुरू भएको छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिलो गरी दिउँसो साढे एक बजेदेखि सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली सौराहाको बन्द सत्र हुने हलमा पुग्नुभएको छ । बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, गएराति केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो । त्यस्तै पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो ।
    बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । बन्द सत्रबाटै नयाँ नेतृत्व चयन हुनेछ । शनिवार पनि पार्टीका अध्यक्ष ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँगको छलफललाई निरन्तरता दिनुभएको छ । सकेसम्म सबै पदाधिकारी सहमतिमा टुंगो लगाउने नभए नेतृत्वमा सहमति जुटाउने प्रयास भए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भएको बताउनुभएको छ । दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने बताउनुभयो । पार्टी भित्र एकता भएमात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने ओलीको भनाइ छ । महाधिवेशनमा सहमतिको सम्भावना कम हुँदै गएको चर्चाका बीच अध्यक्ष ओलीले सहमतिमै जोड गर्नुभएको हो ।


    अध्यक्ष ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यवाद पनि दिनुभयो । विरोधीहरुले पार्टी नै खोसेर धुलोमा पछारेकोमा एक वर्ष पनि नभइ देशको एक नम्बर पार्टीको रुपमा पुनर्जिवन पाएको दावी गर्दै ओलीले खुशी व्यक्त गर्नुभयो ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याएको भन्दै खुशी मनाउनेहरुलाई चितवनमा देखिएको जनसमर्थनले जवाफ दिएको बताउनुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा जनसमर्थन कोसँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताउनुभयो । विरोधीहरुको जालझेलबाट पार्टी प्रतिपक्षमा आएको भए पनि पार्टी उस्तै बलियो रहेको उहाँको भनाइ छ ।
    सहमति नभए चुनाव गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । शनिबार बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको छ । शनिवरै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आइतवार मतदान गर्ने कार्यक्रम तय भएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ ।
    सर्वसम्मत नेतृत्व चयनको माग गर्दै प्रतिनिधि तथा युवा–विद्यार्थी नेताले सौराहामा प्रदर्शन गरेका छन् । उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । एमाले महाधिवेशनको उद्घाटनसत्र शुक्रवार नारायणी नदी किनारमा भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology