बाँके(राप्तीसोनारी), : समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८ दशमलभ ८ मेगाहर्जले बुधबार आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ । २०७६ कात्तिक १० गतेबाट सामुदायिक रेडियो भूवर भवानीले आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो । रेडियो स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेडियोले बुधबार एक औपचारिक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो । औपचारिक कार्यक्रमको प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले केक काटेर उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले विकट र ग्रामिण बस्तीमा रेडियो भूवर भवानीले जनतालाई सहज रुपमा सूचना, समाचार र कार्यक्रम पु¥याएको बताउनुभयो । आफु रेडियोको नियमित स्रोता समेत भएको बताउँदै उहाँले रेडियोबाट प्रशारण हुने कार्यक्रम तथा समाचार नियमित रुपमा सुन्ने गरेको धारणा राख्नुभयो । ‘प्राविधिक कुरालाई सुधार गरेर अझै कुना–कुनामा आवाज पुर्याउने काम यस रेडियोले गरोस्, म यही शुभकामना दिन्छु,’ उहाँले भन्नुभयो ।
रेडियोबाट प्रशारण भएका सूचना, समाचार र कार्यक्रमले जनप्रतिनिधीलाई समेत काम गर्न थप सहज हुने गरेको अध्यक्ष थारुले सुनाउनुभयो । ‘गाउँपालिकाले प्रशारण गर्ने सूचना र हामीले दिएका अन्तर्वार्ता यस रेडियोबाट सुनेकै आधारमा जनताले सेवा, सुविधाबारे चासो राख्ने र फोन गर्ने गरेको कयौं पटक मैले आफै भोगेको छु, रेडियोको प्रभावकारिता धेरै नै छ,’ उहाँले भन्नुभयो । मानिसका अन्य आधारभुत आवश्यकता जस्तै रेडियो पनि महत्वपुर्ण आवश्यकता भएको अध्यक्ष थारुको भनाई थियो ।
राप्ती सोनारीको विकट बस्ती खयरभट्टीमा आफु जाँदा त्यहाँका नागरिकले आफुहरुका लागि सूचना र समाचारको बलियो स्रोत रेडियो भूवर भवानी नै भएको बताउनु गरेको थारुले सुनाउनुभयो ।

विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले रेडियो भूवर भवानी सञ्चालन भएयता जनताले स्थानीय एफ.एम. रेडियोबाटै सूचना, समाचार र कार्यक्रम सुन्न पाइरहेको बताउनुभयो । ‘हामी जनप्रतिनिधीले जनताको काम गरिरहँदा हाम्रा कुरा जनतालाई सुनाउन र जनताका गुनासाहरु सुन्नलाई रेडियो भूवर भवानी प्रभावकारी माध्यम बन्न पुगेको छ,’ उहाँले भन्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यक्रमका विशिष्ट अतिथी लोकबहादुर शाहीले गाउँपालिकाको सूचना प्रशारण गरेर रेडियोले प्रभावकारी रुपले काम गरिरहेको बताउनुभयो । ‘रेडियोले अझै प्रगति गर्दै जाओस्, म यही शुभकामना दिन्छु,’ उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु, वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओली लगायतले रेडियोलाई शुभकामना दिनुभएको थियो । समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियोका कार्यकारी प्रमुख अर्जुन ओलीले बाँकेको पुर्वी ग्रामिण तथा विकट क्षेत्रका जनतालाई स्थानीय सञ्चार माध्यमको पहुँचमा ल्याउने उद्देश्यले रेडियो भूवर भवानी स्थापना गरिएको जानकारी दिनुभयो ।

‘स्थानीय स्तरमै रेडियो खुलेपछि विकटका नागरिकले सहज रुपमा सूचना र समाचार सुन्न पाएका छन, जनतालाई सूचनाको पहुँचमा ल्याउनु नै हाम्रो उद्देश्य थियो,’ उहाँले भन्नुभयो ‘रेडियो स्थापनाको छोटो समयमै रेडियोप्रति स्रोताबाट माया, सहयोग र सद्भाव पाउँदा हामी निकै हर्षित छौं ।’ यसवर्ष कोरोना महामारी र बेमौसमी वर्षाले पु¥याएको मानविय तथा भौतिक क्षतिले सबैलाई स्तब्ध बनाएकाले रेडियो पनि आफ्नो वार्षिक उत्सवलाई विगतको जस्तो तामझाम नगरेर मनाएको कार्यकारी प्रमुख ओलीले प्रष्ट्याउनुभयो ।
सामुदायिक अवधारणामा सञ्चालनमा रहेकाले रेडियोलाई दिर्घकालिन समयसम्म टिकाइ राख्ने दायित्व पनि स्थानीय सरकार तथा आम समुदायकै भएको कार्यकारी प्रमुख ओलीले बताउनुभयो । रेडियोका स्टेशन म्यानेजर बिमला चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य समृद्धिका लागि सञ्चार नेपालका सचिव अधिवक्ता चित्रबहादुर केसीले गर्नुभएको थियो ।
संस्थाले रेडियो सञ्चालन गरेर एकातिर ग्रामिण तथा विकट क्षेत्रका जनतालाई सुसुचित गरिरहेको र अर्कोतिर संस्थाले सुशासन, आयआर्जन लगायत सामाजिक काम पनि गर्दै आएको उहाँले बताउनुभयो । स्थापना कालदेखी नै रेडियो दैनिक साढें १५ घण्टा प्रशारण हुदै आइरहेको छ । रेडियोले दैनिक रुपमा नेपाली र थारु भाषामा समाचार बुलेटिनका साथै विभिन्न भाषामा सूचना मुलक र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरिरहेको स्टेशन म्यानेजर चौधरीले जानकारी दिनुभयो ।
