नेपालगन्ज २४ बैशाख – शुक्रवार कालो प्लाष्टिकले बेरेर अटो रिक्सामा निराश हुदै ३ जना गैरहेका थिए । आफ्नो गन्तव्य तिर लाग्दै उनिहरु छिनछिनमा रुदै अगाडी बढिरहेका थिए । बोल्न सक्ने अवस्थामा थिएनन् । खास गरि कालो प्लाष्टिकमा बेरेको त्यो बस्तु थियो शव । पिसिआर परिक्षण गर्न आउदा शव लग्नु प¥यो एकजनाले आशु पुछ्दै भन्नुभयो । परिस्थितिले कहाँदेखि कहाँसम्म एकैछिनमा पु¥याउदो रहेछ ।
शुक्रबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राङ्गणमा एक कारुणिक घटना घटेको छ । कोरोना संक्रमणको आशंकामा पिसिआर परिक्षण गर्न आएका एक ब्यक्तिको लाईनमा पालो कुर्दै गर्दा मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ का ति पुरुष कोरोना परिक्षणका लागि पालो कुरीरहेका थिए । आफन्तसँगै अस्पताल पुगेका ति पुरुषले आवश्यक प्राथमिक उपचारकै अभावमा अस्पताल परिसरमै ज्यान गुमाउन प¥यो । करिव ३÷४ दिनदेखि टाउँको दुख्ने ज्वरो आउने समस्या रहेका ति पुरुषको चेकजाँच गर्नका लागि अस्पताल पु¥याएका थियो, अस्पतालले पिसिआर परिक्षण गर्न भनेपछि लाइनमा बस्यो उहाँका कुरुवाले भन्नुभयो । लाईनमा बस्ने क्रममा उहाँको चक्कर आयो र लड्नुभयो । एकछिनमा उहाँ हामीमाझ नै रहनुभएन उहाँ फेरी भक्कानिएर रुनुभयो ।
अस्पतालको आपतकालीन कक्षमा कार्यरत डा. देबेन्द्र आचार्यले सामाजिक संजाल फेसबुकमा मृतकको तस्बिर शेयर गर्दै दुःख ब्यक्त गरेका छन । डा. आचार्यका अनुसार अस्पताल परिसरमै ज्यान गुमाएका ति पुरुषलाई आफन्तले रिक्सामा राखेर घर फर्काएका छन । यद्यपी उनको अझैं कोरोना परिक्षण गरीएको छैन ।
नेपालमा कोरोनाको प्रभाव भयावह रुपमा देखिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितले उपचार नपाएर छटपटिदैं मृत्युवरण गरेको समाचार बनिरहँदा नेपालमा समेत त्यसप्रकारको दृष्य देखिन थालेको छ ।
बाँकेकै सन्दर्भमा कुरा गर्ने हो भने कोरोना संक्रमितहरुले समयमै उपचार नपाएर दिनहुँ ज्यान गुमाईरहेका छन । जिल्लाका ठुला अस्पतालले अक्सिजन र बेड अभावमा संक्रमितलाई भर्ना गर्न नसक्ने बताउँदै आएका छन । डरलाग्दो रुपमा फैलिएको कोरोनाले बाँकेमा अझैं विकराल रुप लिने सम्भावना बढ्दै गएको छ ।
