(Saturday 25th of July 2026)
`

टिआरटिआई कलेजका विद्यार्थीहरुलाई ल्यापटप वितरण, प्रदेश प्रमुखको प्रेरणादायी सन्देश

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    नेपालगन्ज, २७ असार । – टीआरटिआई कलेज, नेपालगञ्ज १० बाँकेको आयोजनामा आज एक विशेष कार्यक्रमका बीच बीबीए दोस्रो सेमेष्टरका उत्कृष्ट २८ विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ । ‘आईटीमैत्री शिक्षा, डिजिटल भविष्य’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई अनुसन्धान र प्रविधिमा थप पहुँच दिन ल्यापटप वितरण गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले देशमै अवसर खोज्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विदेशमा दुख गर्नुको सट्टा आफ्नै माटोमा रमाउँ, समृद्धि यहीँ सम्भव छ ।”
    कर्णाली प्रदेशको अपार प्राकृतिक स्रोत, जडिबुटी, पर्यटन, र पेट्रोलियम सम्भावनालाई उदाहरण दिँदै उहाँले युवालाई देशमै काम गरेर आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो । “जुम्लाको स्याउदेखि दैलेखको तेलसम्म, कर्णाली विकासको मूल थलो बन्न सक्छ,” उहाँले भन्नुभयो ।
    उक्त कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अधिकृत भगत बहादुर नेपालीले टीआरटिआई कलेजले डिजिटल मार्केटिङ र सूचना प्रविधिमा अग्रणी भूमिका खेलिरहेको जानकारी दिनुभयो । “हामी क्लष्टर स्तरबाट सुरु भएर एमबिएसम्मका कार्यक्रम सञ्चालन गर्दैछौं । विद्यार्थीमैत्री वातावरण हाम्रो प्राथमिकता हो,” अधिकृत नेपालीले भन्नुभयो ।
    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर मोहनजंग शाह, समाजसेवी खगेश्वर बोहरा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, प्याव्सन बाँके अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा, सचिव विज्ञान शाह लगायत शिक्षकमण्डल र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    कार्यक्रमको संचालन प्रशंसा सुनारले गर्नुभएको थियो भने सम्मान कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, गजल, मुक्तक, चुट्किला लगायतका सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology