(Saturday 25th of July 2026)
`

“नन्दकलाको मौरी पालन : सानो लगानी ठुलो फाइदा”

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : मलाई माफ गर्नुहोला । सरी है । यो पटक पनि हजूरलाई मह दिन सकिन । अर्को लटमा पक्कै हुने छ, ढुक्क हुनुस । दुखि छु, है त । होचो कद । साधारण पहिरन । सरल स्वभाव । अनि मिहेनती बानी । हामीसंग भेट हुँदा मोबाइलमा कुरा गर्दै थिइन् उनी । एक हातमा मोबाइल र अर्को हातले मौरीको चाका समाउदै । मोबाइलमा गरेका कुराले महको माग पुरा गर्न नसकेको बुझियो ।
    हुन त अव गर्मी कम हँुदै जाने समय हो यो । तर पनि गर्मीले सताएकै छ । यस्तो मौसममा पनि मौरीको स्याहार सुसारमा व्यस्त छन् ४२ वर्षीया नन्दकला सिजाली । पहिलो पटक घरमा जाँदा मह प्रशोधनका उपकरण सफा गर्दै गरेको अवस्थामा उनि भेटिन । आज भने सुर्खेत जिल्लाको लेकफर्सामा भेटिइन् । बाँकेको कोहलपुरबाट एक सय तीस घार मौरी लिएर चराउन आएकी रहिछन् । घरका कुरा गर्ने नै हो भने पनि यति सारै मिहिनेत नगरे पनि हुने हो उनले । भारतीय सेनामा कार्यरत अमृत सिजालीसंग उहाँको विवाह भएको थियो ।
    सानैदेखि परिश्रममै रमाउने बानी परेकी उनलाई त्यसै बस्न मन लागेन । “त्यसै बसेर के गर्नु, दिनभरी वरिपरीका दिदीबहिनी जम्मा भएर बस्यो, एक अर्काका कुरा काट्यो गर्नु भन्दा त यसैमा खुशी छु । काम नगरी त मनले नै मान्दैन” । व्यवसायमा लाग्नुको कारण सोध्दा उनले बताइन् । काममा व्यस्त हुने मानिसलाई अनावश्यक कुरा गर्ने फुर्सद नभएको र कामले शरीर स्वस्थ्य राख्न पनि सहयोग पुगेको आफ्नो अनुभव सुनाइन् ।
    मौरी र महका कुरा धेरै भए । मह जति स्वास्थ्यवद्र्धक र गुणकारी छ, यसकै उत्पादन गर्न भने त्यति सजिलो छैन । प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यससमा प्रत्यक्ष असर पार्ने गर्दछन् । जाडो समयमा अति जाडो र गर्मी समयमा अति गर्मीको कारण मौरीलाई बचाउनै कठीन हुन्छ । फूल नफुलेको समयमा कृतिम खाना समेत बनाएर खुवाउनु पर्दछ । एक ठाउँबाट ट्रकमा राखेर चराउन लैजादा खर्च पनि त्यत्तिकै हुँने गर्दछ । अरिङ्गल, कमिला, बछ्यू, चिवे चरा, मलसाँप्रो जस्ता मौरीका शत्रुबाट बचाउन पनि निकै धौ धौ हुने गर्दछ । समय समयमा हाड नाता नहोस भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ । नश्ल सुधारिएको रानीमौरीको मूल्य पाँच, छ लाखमा किन्नु पर्दछ जुन सामान्य किसानलाई सजिलो छैन । जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्सामा चराउन लैजानु पर्दछ । एक सय तीस घार मौरीबाट वार्षिक करीव तीस क्वीन्टल मह उत्पादन हुँदो रहेछ । तोरी, चिउरी र रुधिलो गरी तीन थरीको महको फुटकर मूल्य क्रमशः ६ सय, ७ सय र ८ सय भएको उनले बताइन् । मौरीको चाकाबाट निस्कने मैन, कुट जस्ता कुराको पनि राम्रै मूल्यमा कारोवार हुने गरेको उनले सुनाइन ।
    सानैदेखि काममा रमाउने उनको जन्म सुर्खेत जिल्लाको लेखपर्सामा भएको हो । कक्षा १० मा पढदै गर्दा उनको विवाह भारतीय सेनसंग हुनपुग्यो । विवाहपछि श्रीमानसंगै भारत पुगिन उनी । कुनै अभाव नभए पनि त्यहाँको जीवनशैली त्यति मन परेन । छोरा जन्मिए पछि उसको पढाइको लागि केहि न केही सोँच्नै पर्ने भयो । उसलाई इन्डियामै पढाउने वा नेपालमा । दोश्रो विकल्प छानियो । आर्मीको जागीर, ठाउँ ठाउँमा सरुवा भैरहने । फेरी नेपाली भाषा र सँस्कारबाट नि टाढा हुनु पर्ने । त्यसैले २०५७ सालमा कोहलपुरमा आई बसोबास शुरु ग¥यौ । उनले सुनाइन् ।
    सातवर्ष अघि चालीस हजारको लगानीमा दश घार मौरीबाट शुरु गरेको व्यवसाय अहिले एक सय तीस घार पुगेको छ । वर्षमा करीव बीस लाखको मह विक्री हुने र खर्च कटाउँदा चौध लाख जति मुनाफा हुने कुरा प्रफुल्लित मुद्रामा उनले सुनाइन् । महको बजारको कुनै कमी नभएको र माग अनुसार आफूले उत्पादन गर्न नसकेको कुरा समेत बतााइन् उनले । “काठमाण्डौ र बुटवलबाट माग आइरहन्छ तर कोहलपुर र नेपालगञ्जमै महले पुग्दैन” । ढुक्कसंग सुनाउँछिन् उनी ।
    समाजमा महिला पनि आत्मनिर्भर भई बाँच्नु पर्छ भन्ने सोँचले नै उनलाई यहाँसम्म ल्याएको हो । गाउँघरमा महिला अगाडि बढि केही गरेको देख्दा आफूलाई औधि आनन्द आउने र गर्व लाग्ने गरेको सुुनाइन् उनले । “महिलाले अटो चलाएको, मोटरसाइकल चलाएर कार्यालय आउने जाने गरेको देख्दा भित्रदेखि नै मन रमाउँदछ” ।
    समाजमा गरिने कुराहरु “श्रीमानको र छोराको राम्रो कमाई हुँदा पनि कति काम गर्न परेको होला । मरेर जाँदा पनि संगै लैजाने होला जस्तो । एक पटक पाएको जीवन, के दुःख गरिरहनु” भन्ने जस्ता कुरा पनि नसुनेकी होइनन् उनी । तर सधै कर्ममा रमाउने बानी परेकी उनलाई यस्ता कुराले कतै छोएनन् । उनलाई थाहा थियो चुरा, टीका र पोतेका लागि पनि आर्थिक अभावका कारण अरुको घरमा झगडा भएको । जव थोरै पैसाको अभावको कारण लोग्ने स्वास्नी बीच झगडा भएको देख्थेँ, मनमा निकै पीडा हुन्थ्यो र केही गर्नु पर्छ भन्ने सोच बलियो भएर आउथ्यो । नन्दकला आफ्नो विगत सुनाउछिन् ।
    सिजालीले पहिले पनि अन्य व्यवसायको शुरुवात भने नगरेकी होइनन् । उनको केही गरौ भन्ने स्वभावका कारण शुरुमा कुखुरा, बाख्रा र बंगुर पाल्ने प्रयास गरिन् । श्रीमान विदेश । छोराको पढाई । एक्लै सबै काम गर्न सजिलो भएन । काम अनुसारको कमाई नहुदा पनि फरक सोँच पलायो । पहिले त कहिले महिना सकिएला र श्रीमानको तलब आउला भनेर दिन गन्दैमा ठिक्क हुन्थ्यो । आजभोली भने कुन महिनाको कति तारिख हो भन्ने कुराको ख्यालै हुँदैन । मैले गरेको काम रामै्र भएर होला वि.वि.सि.ले समेत मेरो कामको प्रसंशा गर्दै प्रसारण ग¥यो । व्यवसायले जीवनमा ल्याएको परिवर्तन सुनाइन उनले ।
    मौरी स्वभावैले प्रकृतिमा रमाउने सामाजिक प्राणी हो । यसमा लाग्ने मानिस पनि प्रकृति प्रेमी हुन्छ भन्ने बुझाई छ उनमा । प्रकति आफैमा एक शुन्दरता भएकोले यसमा रमाएर काम गर्न सके शुन्दरता खोज्न कहिँ जानु पर्दैन । आजसम्म आफू शुन्दरताको लागि कुनै व्यूटिपार्लर नगएको बताउछिन् उनी । “पार्लरमा गई अनुहारमा मह लेप लगाएर आउने शुन्दरता भन्दा घरमै नियमित सेवन गरिने २ चम्चा महले ल्याउने शुन्दरता धेरै गुणा प्राकृतिक र दीगो हुन्छ” । नन्दकला मुस्कुराउदै सुनाउछिन् ।
    मह मात्र होइन, मौरीपालन गर्न चाहने कृषकलाई मौरी समेत विक्री गरिरहेकी सिँजाली अवका दिनमा व्यवसायलाई अझ बढाउँदै जाने सोच रहेको बताउँछिन् । मनभरी मौरीका घार बढाउने साँेच रहेको तर सोहीअनुसार गर्न नसकिएको कुरा उनले सुनाइन । आगामी दिनमा सकेसम्म घार पनि बढाउँदै जाने र मौरीको संख्या पनि वृद्धि गर्ने उनको सोच रहेको कुरा उनले भेटमा बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology