(Saturday 25th of July 2026)
`

फूलकी साथी विष्णु चौधरी

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज – “फूल ” भन्ना साथ “सुवास” नामको शब्द पनि स्वतःजोडिन आउने गर्दछ । “पवित्रता” यसको अर्को विशेषता हो । फूलमा पवित्रता र सुवास हुने भएकोले फूल मन नपराउने मानिस विरलै होलान शायद । साहित्यमा फूलको वयान गरेका अनगिन्ति उदाहरण पाइन्छन् । कसैले यसलाई शुन्दरताको प्रतिकका रुपमा लिएका छन् त कसैले जीवनको अटुट संवन्धको रुपमा । त्यसैले आजभोली प्राकृतिक फूल नहुने ठाउँमा पनि प्लाष्टिकका कृतिम फूल राखी आत्म सन्तोष गर्ने प्रचलन बढ्दो छ । नेपाली समाजको चालचलन, धार्मिक र साँस्कृतिक पक्षलाई हेर्दा पनि फूलको महत्व धेरै छ । आगनको छेउँछाऊ वा बारीको ढीक वा कान्लामा फूल लगाउने र धार्मिक संस्कृति अनुसार उपयोग गर्ने नेपाली परम्परा नै हो । काउली, ब्रोकाउली जस्ता विरुवाको फूललाई नै तरकारी बनाई खानुले पनि मानव र फूलको अनुन्याश्रृत सम्वन्धलाई झल्काउदछ । मानिसको जन्मदेखि मृत्युसम्मका सँस्कारमा फूलको उपयोग हुनुले यसको महत्व स्वतः बढेको छनै,विभिन्न औषधिजन्य काममा पनि फूलको प्रयोग हुनुले यसको गुणात्मक पक्षलाई समेत थप उचाईमा लगेको पुष्टि गर्दछ ।
    यस्ता कुरा चलिरहँदा, स्वतःउठ्ने प्रश्न उठ्ने गर्दछ “उसो भए हामी फूलमा आत्मनिर्भर छौ त ?” उत्तर भने अलि शंकोच लाग्दो छ । विगतलाई हेर्दा अन्यचिजमा जस्तै फूलमा पनि हाम्रो परनिर्भरता छ । अघिल्ला वर्षहरुको तुलनामा क्रमश घट्दै गए पनि गतवर्ष मात्र करीव पौने दुई करोडको फूल आयात भएको देखिन्छ । नेपाली समाजमा मौलाउँदै गएका भ्यालिनटाइन डे, वर्थ डे जस्ता आयातित संस्कृतिको प्रभावमा परी खपत हुने फूलको त कुनै लेखाजोखा नै छैन । यही परिवेशमा फूलको परनिर्भरतालाई केही कम गर्न सकिन्छ कि भनेर प्रयासरत छन् विष्णु चौधरी । व्यवसायिकपुष्प खेतिबाट पनि महिलाले आफ्नो जीवनयापन गर्न सक्छन् भन्ने उदाहरण बनेकी चौधरीलाई अहिले आफ्नो साथी र संसार नै फूल र फूलवारी भएको छ । कोहलपुर २ वर्दहवामा बसोवास गर्दै आएकी चौधरी ८ कठ्ठा जग्गा भाडामा लिई पुष्पव्यवसायमा संलग्न छन् । दुइ छोरा छोरी र श्रीमान सहित चार जनाको पारिवारिक खर्च पुष्प व्यवसायबाट चलेकोमा खुशी देखिन्छिन् चौधरी ।
    बारीमा ढकमक्क फक्रिदै गरेका फूल । कतै हुर्कदै गरेका स साना विरुवा । अर्कोतिर फूल रोप्न तयार पारिएको जमिन । माला उन्दै गरेका सहयोगीहरु । फूल र मालाको व्यवस्थापनमा व्यस्त दैनिकी चलिरहेको हुन्छ । खोलिएको फूलमालाको पसल । कतिबेला फूलबारीमा त कतिबेला पसलमा । दिन गएको पत्तै हुदैन । “हजुर यहाँ बसेर चीया प्युँदै गर्नुस, ५ मिनेटमा म बारीबाट फूल लिएर आइहाल्छु ।” कहिले काही माग अनुसार पसलमा फूल सकिएको बेलाग्राहकलाई विश्वस्त बनाउँछिन् उनी । हुन त उनलाई यो काम नगरे पनि खान लाउनको कमी थिएन । बर्दियाको गेरुवामा खान पुग्ने खेत छ । ससुराको पेन्सन । अनि श्रीमान शिक्षक । परिवारका सदस्य पनि दुःख नगर्न भन्छन् । तर सानैदेखि काममा रमाउने बानी परेकी उनलाई खाली हात बस्न मन लाग्दैन, “त्यसो गर्दा दिन पनि वर्ष जस्तै लामो लाग्छ । कमाई नै नगरी बस्दा त पृथ्वीको बोझभए जस्तै लाग्छ” उनी सुनाउछिन् ।
    मिहेनती स्वभावकी चौधरीले नेपाली विषयमा स्नातक गरेकी छन् । अरु जस्तै उनी पनि पढेर जागीर खाने सोँच थियो शुरुमा । जागीरको खोजीमा केही समय वित्यो पनि । तर भने जस्तो कतै भएन । सानैदेखि खेती गर्ने परम्परागत सीप थियो । यसैले उनलाई साथदियो । जागीरको खोजीमा बरालिएर हिड्नु भन्दा आफ्नै सीपको उपयोग गरौ भन्ने लाग्यो । त्यसैले जमीन भाडामा लिएर भएपनि पुष्प खेती शुरु गरियो ।
    शुरुमा के कसो होला । घाटा पो लाग्ने हो कि भन्ने असंख्य प्रश्न पनि नआएका होइनन् । कोहलपुरको परिवेशमा यो व्यवसाय नयाँ थियो । कतिपय आफन्तले यसमा समय खेर नफाल भन्ने सल्लाहा पनि दिए । तर त्यसै बस्नु भन्दा केही गर्नुपर्छ भन्ने सोच बोकेकी चौधरीलाई यसले कुनै प्रभाव पारेन । होला कि नहोला भन्ने दोसाँधमा शुरु गरेको व्यवसायले नसोँचेको रुप लियो । चाडवाड, विवाह, व्रतवन्ध जस्ता शुभकार्यमा मात्र होइन, राजनीति दल र संघ सँस्थाका कार्यक्रममा पनि फूल र मालाको माग बढ्न लाग्यो । कहिले काही त माला उन्दैमा रात गयो । सानोतिनो खर्चमा पनि अरुको मूख ताक्नु पर्ने दिनमा क्रमश सुधार आयो । छोरा छोरीको पढाई खर्च समेत यसैबाट जुट्न लाग्यो । कुशल गृहिणी मात्र होइन, सफल पुष्प व्यवसायीको पहिचान गरायो । पहिले एक दुई हजार सापटी नपत्याउने चौधरीलाई आवश्यक पर्दा एक दुई लाख सजिलै जुटाउन सक्ने बनायो ।
    सफलता भएपनि यस क्षेत्रमा समस्याको कमी छैन । गुणस्तरीय बीउको अभाव छ । भनेको समयमा कामदार पाइदैन । जाडोमा शीतले फूललाई कालो बनाइदिन्छ । उधारोमा दिनु पर्दा पैसाको अभाव भैरहन्छ । उधारो लगेर नतिर्नेको संख्या पनि बढ्दो छ । तै पनि उनको विश्वास टुटेको छैन । आपूmले गरेको कामको सफलता पछि अहिले आफ्नै फूलमाला पसल खुलेको छ । आफ्नै बारीको फूलबाट बनेका माला यहिबाट विक्री हुने गर्दछन् । अरुको देशमा गएर काम गर्नु भन्दा आफ्नै देशमा केही गर्न सके महिला माथि हुने दुरव्यवहार र हिँसामा कमी आउने कुरा सुनाउँछिन् चौधरी । “शरीरमा ताकत र बल हुँदा सम्म विदेशीको सेवा गर्ने, अनि बूढो शरीर लिएर स्वदेश फर्किने । अनि कसरी देश उँभो लागोस त । ” चौधरी गुनासो सुनाउछिन् । आउँदा दिनमा अरु केही थप जमिन लिएर व्यवसाय संचालन गर्ने सोँच रहेको चौधरी बताउँछिन् । “समयअनुसार फरक फरक जातका फूलको माग भैरहन्छ । जमिन थोरै हुँदा माग अनुसार वितरण गर्न भ्याएकी छैन, बाहिरबाट ल्याएर भएपनि दिने गरेकी छु ।”उनले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology