विष्णु पोखरेल, नेपालगन्ज : बिहान ७ बज्न पाएको छैन । ढिलो भैसकेको छ । राप्तीसोनारी ९, ढकेरी बस्ने रुम ब. र देवी बि.क. लाई हतार हतार देवीभान्साको काम सक्छिन् र रुम बहादुर पनि सरसामानको भारी मिलाउँछन् । कोहलपुर जानको लागि अटोरिक्सा समेत तयार भैसकेको छ । बिहान ८÷९ बजे कोहलपुर पुग्नु र दिनभरी काम गरेर बेलुका घर फर्किनु उनीहरुको दिनचर्या नै बनेको छ । यसैमा अभ्यस्त भइसकेको छ उनको परिवार ।
कोहलपुर अर्थात कोहलपुर दुरसंञ्चारको पूर्वी सडक जुन विद्युत कार्यालय जाने बाटो पनि हो, छेउँ नै उनीहरुको काम गर्ने थलो बनेको छ । कोहलपुर, बर्दहवा, रझेना, एनसिसिएनका किसानहरुको जमघट हुने थलो बनेको छ उनको यो पसल । त्यस्तै किसान बाहेक अन्य मानिसहरु पनि आ आफ्ना फलामका औजार बनाउन र मर्मत गर्न यहाँ आउने गर्दछन् । दिनभरी मानिसहरु आफ्ना फलामका औजार लिएर आउँदछन् र मर्मत गरी फर्किने गर्दछन् । रुम बहादुर कडा फलामलाई तताएर आवश्यकता अनुसारको आकार दिएर मर्मत गर्दछन् भने उनकी श्रीमति देवी पनि दिनभरी नै रुम बहादुरलाई सहयोग गर्दछिन् ।
चर्को घाममा दिनभरी आगो र फलामसंग खेल्नु आफैमा सजिलो काम भने होइन । गर्मीले पुरै शरीर पसिनै पसिनाहुनु त छदै छ, आगोको कारण आँखामा पनि नकारात्मक असर पुग्ने गर्दछ । जतिसुकै दुख भए पनि चारैतिरबाट आएका किसान ग्राहकहरु सन्तुष्ट भएको देख्दा आफूलाई सन्तोष मिल्ने र यसैबाट आफूलाई हौसला मिलिरहेको कुरा रुप बहादुरले बताए । त्यस्तै आफ्नो श्रीमानसंगै दिनभरी काम गर्न पाउँदा खुशी रहेको पनि देवीले सुनाइन् ।
काँधमा फरुवा र हलोको फालीलिएर आएका रझेनाका कल्लु थारुका अनुसार उनको आरनभएको कारण किसाहरुलाई औजार बनाउन र मर्मत गर्न निकै सजिलो भएको छ । उनका अनुसार पहिले फलामको काम गर्ने ठाउँ धेरै भए पनि सबै लोप भैसके र यदाकदा बाँकी रहेका यस्ता ठाउँका किसानको घुइचो लाग्ने गर्दछ । घाँस काट्ने हसिया मर्मत गर्न आएकी हाइस्कूल टोलकी बीना बस्नेतले पनि यस आरनबाट आफूलाई धेरै सजिलो भएको कुरा सुनाइन् । समय समयमा हँसिया, कोदाली, फरुवा फलामका सामानको मर्मत सम्भार गर्नुपर्ने र यस्ता ठाउँ विरलै पाइने पनि उनको कथन थियो ।
हुन त रुम बहादुरले नपढेका भने होइनन् । कलेजबाट १२ कक्षा उर्तिण गरेका छन् । देवी पनि कक्षा ८ पास हुन् तर हातमा सीप भए पनि पहुँच नभएपछि जागीर कहाँ पाउनु । बाँकेमा रहेको कालिका कन्ट्रक्सनमा १० वर्षसम्म काम गरे रुम बहादुरले । त्यसपछि भने जागीर सकियो । कहाँजाने के गर्ने भन्ने लाग्दै थियो । यतिकैमा लोप हुन लागेको पूर्खाको पेशा नै गरौ भन्ने लाग्यो । लगानी पनि धेरै नचाहिने र आफूसंग भएको सीप पनि प्रयोग गर्न पाइने भएकोले नै यसतर्फ लागेको कुरा उनी सुनाउँछन् । तर कहाँ गर्ने भन्ने निश्चित थिएन । आरन खोलेर मात्र पनि भएन चल्न पनि त प¥यो । यस्तै कुरा सोँच्दा सोँच्दै दिन वितेको पत्तै हुदैन्थ्यो ।
यत्तिकैमा उनको भेट ज्ञानु शाह भन्ने एकजनासंग भेट हुनपुग्यो । उनको कोहलपुरमा एउटा घडेरी पनि रहेछ । उनी निकै सहयोगी स्वभावका रहेछन् । आफूले घर नबनाउँदासम्म उनकै घडेरीमा टहरो बनाएर काम गर्ने सल्लाहा दिए । त्यस्तै अर्का सहयोगी देवीराम रावतले हौसला मात्र दिएनन्, कामको लागि आफ्नो घरबाट विद्युतको लाइन समेत मिलाइ दिए । सीप र कला त आफूसंग नै थियो, यसरी यहाँ आएका रहेछन् उनी ।
रुम बहादुरका अनुसार परम्परालाई जोगाउन त्यति सजिलो भने छैन । काम गर्दा इन्धनको रुपमा प्रयोग हुने गोलको निकै अभाव छ । दुःख विमारी भएर विस्तारामा परियो भने भोकै मर्नुपर्ने अवस्था आउँदछ । फलामको काम गर्ने मानिसलाई अझै पनि समाजले सम्मानजनक रुपले हेर्दैन । यति हुँदाहुँदै पनि आफ्ना २ छोरीलाई स्नातक र १ छोरालाई १० कक्षासम्म पढाउन सफल भएकोमा उनीहरु खुशी रहेका छन् ।
देवी बि.क. भने स्नातक गरेका २ छोरीलाई कसैले जागीर लगाइ दिए परिवार पाल्न निकै सजिलो हुने कुरा सुनाउँछिन् । आफूले सकी नसकी बालबच्चा पढाएको र कतै काममा लगाउन नसक्दा आफू खिन्न बन्न बाध्य हुन परेको देवीले सुनाइन् । सबै कुरा भने जस्तो भएमा आफ्नो आरनलाई यान्त्रिकरणको माध्ययमबाट परिस्कृत गर्ने र थप जनशक्तिलाई रोजगार दिई परम्परागत पेशालाई आकर्षण बनाउने कुरा दुवैजनाले सुनाए ।
