बाँके, भारतमा भएको सडक दुर्घटनामा परि नेपालगन्जका एकै परिवारका चार सहित ६ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको सडक दुर्घटनामा परि नेपालगन्ज त्रिभुवन चोक नजिकै रहेको हरिओम मेडिकल स्टोरका संचालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातीको घटनास्थलमा मृत्यू भएको नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले पुष्टि गर्नुभएको छ ।
त्यसैगरी, दुर्घटनामा परि त्रिभुवन चोकको उत्तरतर्फ रहेको एस. कुमार वाच सेन्टरका संचालक सन्तोषकुमार बैश्यका छोरा र छोरीको पनि मृत्यु भएको उहाँले बताउनुभयो ।
भारतको बलरामपुरबाट नेपालगन्ज फर्किने क्रममा श्रावस्ती जिल्लाको सीताकुण्ड नजिक उनीहरु सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी दुर्घटनामा परेको उहाँले बताउनुभयो । सडकमा रहेको गाईलाई जोगाउने क्रममा गाडी ४–५ बल्ड्याङ खाएर सडक छेउको रुखमा ठोकिएको उहाँले बताउनुभयो ।
मृत्युको खबरले शनिबार बेलुकादेखि त्रिभुवन चोकमा सन्नाटा छाएको छ । वैश्य परिवारको मृत्युको खबर पाएपछि परिवारका आफन्त, शुभचिन्तकहरु शोकमा डुवेका छन् । मृतकको भिङ्गास्थित जिल्ला अस्पतालमा आइतवार पोष्टमार्ट गरिएको छ ।
