(Saturday 25th of July 2026)
`

नाथम कलेज सञ्चालनकालागी पैसा उठाउनु आवश्यक छैनः नेपालगञ्ज प्रमुख विष्ट

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगञ्ज । नेपालगञ्ज उप महानगर पालिकाका नगर प्रमुख प्रशान्त विष्टले पर्यटन तथा होटल व्यवस्थापन कक्षा सञ्चालनका लागी पैसा उठाउन आवश्यक नरहेको बताएका छन् । नाट्टा बाँके च्याप्टरसँगको सहकार्यमा उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) स्थापाना, आवश्यकता, अवरोध र सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नाथम कलेज सञ्चालन गर्नु भनेको मन्दिर र मस्जिद सञ्चालन गर्नु जस्तो नभएको भन्दै यस्कालागी पैसा उठान आवश्यक नभएको बताएका हुन् ।
    उनले नाथम कलेज सञ्चालन राज्यको जिम्मेवारी भएको बताउँदै नेपालगञ्जमा उक्त कलेज सञ्चालनकालागी नेपालगञ्ज उपमहानगर पालिकाले आवश्यक पलह कदम चाल्ने बताए । उनले भने,‘बजेट बाँड फाँडको विषयमा प्रदेश र संघिय सरकारद्धारा स्थानिय सरकारलाई केही फरक पन त गरिएकै हुन्छ तरपनि स्थानिय स्तरमा बन्ने भौतिक संरचनाहरुको विषयमा स्थानिय सरकार नै जिम्मेवार भएको हुनाले नाथम सञ्चालनमा पनि हामी अग्रसर नै हुनेछौं । यसकालागी राज्यका कुनकुन निकायलाई कसरी दबाब दिने भन्ने कुरा हामीले आगामी दिनमा यस्को कार्ययोजना र रणनीति बनाउने छौं ।’ नाथम आफैमा एउटा अन्तराष्ट्रिय ब्राण्ड बनिसकेको इन्सिटिच्यू भएको हुनाले पनि यस्को आफ्नै स्टाण्डराईज भएको बताउँदै नगर प्रमुख विष्टले नाथम सञ्चालनकालागी पैसा उठाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘हामीले नेपालगञ्जमा नाथम कलेज सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छौं । तर कलेज सञ्चालनकालागी पैसा उठाउने कुरा चल्यो । यो कुनै मन्दिर या मस्जिद या कुनै अन्य दान पुण्यको काम गर्नकोलागी भवन बनाउन लागिएको विषय हो र पैसा उठाउनलाई ? अन्तराष्ट्रिय स्तरमा हाम्रा नेपाली कुकहरुलाई पुर्याउने शिक्षाको चर्चा गरिरहेका छौं । यो सञ्चालनमा ल्याउने दायित्व राज्यको हो नकि पैसा उठाएर नाथम सञ्चानमा ल्याउने दायित्व जनताको ।’
    विगत दुई बर्षदेखि कार्यालय सञ्चालनमा रहेको नाथमले पर्यटन तथा होटल व्यवस्थापनमा कक्षा सञ्चालन ढिलो गरिरहँदा चलखेलको आशंका गरिएको हो । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नै नदिएर सुरुवाती चलखेललाई प्रश्रय दिएको बताउँदै नाट्टाका तत्कालीन अध्यक्ष अच्यूत गुरागाईले नेपालगन्जमा नाथम सञ्चालनकालागी काठमाण्डौ युनिभर्सिटिसँग सम्बन्धन लिनु परेको बताए ।
    पश्चिम नेपालमै नाथम कलेजका लागि नेपालगन्ज उपयुक्त हुने कार्यदलले सुझाव दिएपछि नाट्टा बाँके च्याप्टरले त्यसको अपनत्व लिंदै जग्गाका लागि स्थानीय सरकारसँग पहल गरेको थियो । नेपाल सरकार, पर्यटन मन्त्रालयको नाथम अध्ययन कार्यदलका तत्कालीन अध्यक्ष गुरागाईका अनुसार नेपालगन्जमा नाथम सञ्चालकालागी कसैको सोर्स, फोर्स भन्दा हरेक दृष्टिकोणले यो ठाउँ उपयुक्त भएको निष्कर्ष निकालिएको थियो । तर, निर्णय कार्यान्वयन प्रक्रियामा नेपालगन्जमा नाट्टा, हान लगायत पर्यटन सम्बद्ध क्षेत्र बाहेकले नाथमको महत्व नबुझेको उनले आरोप लगाए ।
    ‘नेपालगन्जमा नाथम स्थापना नहोस् भनेर चलखेल भैरहेको छ’, पहलकर्ता नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले ‘त्यसको प्रभावमा त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधिकारी समेत संलग्न रहेको’ आरोप लगाउँदै भने, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका उनीहरुको लगानीका निजी कलेजलाई नोक्सान हुने निष्कर्षमा शैक्षिक माफियाहरु चलखेल गरिरहेका छन् ।’
    अध्यक्ष सिग्देलले नाथम कलेज नेपालगन्जमा सञ्चालन गरिंदा बार्षिक ६ सय ४० एकेडेमिक तर्फका विद्यार्थी र सयौं ननएकेडेमिक प्रशिक्षार्थीहरुले प्रत्यक्ष लाभ लिनसक्ने औंल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘यसबाट नेपालगन्जले मात्रै होइन तीन वटै प्रदेशले होटल तथा पर्यटनका क्षेत्रमा दक्ष जनशक्ति पाउँछन् ।’ उनको भनाइ छ, ‘सरकारी स्तरबाट पर्यटन तथा होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्दा विश्व श्रम बजारमा प्रत्यक्ष लाभ लिन सक्छन् ।’
    नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले सरकारको पूर्ण स्वामित्वको कलेज बाँकेमा स्थापना हुँदा एउटा जिल्ला मात्र नभई सिंगो पश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि कोसेढुंगा साबित हुने तर्क गर्दछन् । ‘यति महत्वपूर्ण संरचना नेपालगन्जमा बन्न लाग्दा यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सरोकारवालाले पटक्कै चासो दिएनन्’, सिग्देलले गुनासो गर्दै भने, ‘मध्यपश्चिम विश्वविद्यालयका लागि टाउको फोड्न तयार भएका बाँकेबासी मुस्किलले यही आइसकेको नाथम कलेज अन्यत्र लैजान अनेक तिगडम हुँदा किन मौन ?’
    पर्यटन मन्त्रालयले नाथम बोर्ड मार्फत राजधानी काठमाण्डौ बाहिर कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसक्रममा कार्यदलले नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा कलेज स्थापना हुने उपयुक्त हुने सिफारिस गरेको थियो । ‘बर्दिबासमा यसैबर्षदेखि अध्ययन सुरु हुँदैछ’, कार्यदलका सदस्य गुरागाईले भने, ‘विडम्वना नेपालगन्जमा केही हुन सकेन ।’ नाट्टा अध्यक्ष सिग्देल भन्छन्, ‘यस्तै रह्यो भने नेपालगन्जमा कार्यालयमा खोलिसकेको नाथम नेताका पावरमा अन्यत्र सर्न सक्ने जोखिम देखिएको छ ।’
    दुई बर्ष अघि नेपालगन्जमा नाथमले कार्यालय स्थापना गरेको थियो । नाथम नेपालगन्जका प्राचार्य विपिन नेपालका अनुसार, यो दुई बर्षमा जग्गा प्राप्ति नै उपलब्धी रह्यो । ‘जग्गा प्राप्तिको प्रक्रियाले समय लियो’, प्राचार्य नेपालले दैनिक नेपालगन्जसँग भने, ‘त्यसबाहेक बजेट कुर्ने र सम्बन्धन प्रक्रिया पहल लिने काम भयो ।’ नेपालगन्ज उपमहानगरपालिकाले नाथम कलेज सञ्चालनका लागि कार्यालय स्थापना गर्न अस्थायी रुपमा भवन उपलब्ध गराएको छ ।
    नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–१९ मा एक विगाह जग्गा उपलब्ध गराएको छ । त्यही जग्गामा पनि विभिन्न धार्मिक समूहले दाबी गर्दै आई रहेको छ । यसो हुँदा सबै सार्वजनिक जग्गा यसैगरी धार्मिक समूहहरुले चर्चिने हो भने नेपालगन्जमा विकासका पूर्वाधारहरु आउने सम्भावना निउँन हुँदै जानेछ । विकासलाई धकेल्दै धार्मिक संस्था मात्रै खोल्दै जाने हो भने नेपालगन्जको भविष्य कस्तो होला र कुन दिशा तर्फ जाला ? नाथमका लागि निरन्तर संघर्ष गरिरहेका पर्यटन व्यवसायीहरुको चिन्ता र चासो विषय हो यो । उनीहरु भन्छन्, ‘विकास चाहने हो भने सार्वजनिक जग्गामा कब्जा मुक्त गरेर आवश्यक पूर्वाधारहरु आकर्षित गर्नुपर्छ ।’
    नाथम नेपालगन्जका प्राचार्य विपिन नेपालले भदौ १ गते काठमाण्डौ विश्वविद्यालयबाट राजधानी बाहिरका तीन वटै कलेजलाई सम्बन्धन सम्झौता भएको जानकारी दिए । उनका अनुसार बाँकेबासीको सकारात्मक सहयोग रह्यो भने छिट्टै नेपालगन्जमा पूर्वाधार निर्माण कार्य सुरु हुनेछ । जग्गा प्राप्तिको कानुनी लडाई सकिए लगत्तै सरकारले कलेज सञ्चालनकालागी बजेट दिने विश्वास व्यक्त गर्दै प्राचार्य नेपालले सम्बन्धन प्रक्रिया पूरा भएकाले एकेडेमिक कक्षाको तयारी र नन एकेडेमिक कक्षा प्रारम्भ गर्न आफुहरुको टिम लाग्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology