बाँके (जानकी) : बाँकेको जानकी गाउँपालिकामा सिंहराज डाँगी प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका छन् । डाँगी यसअघि राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डाँगीलाई हालै जानकी गाउँपालिकाको काम काज गर्न खटाएको हो ।
जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले प्रमुख प्रशासकीय अधिकृतको रुपमा डाँगीलाई मन्त्रालयले जिम्मेवारी दिइसकेको बताउनुभयो । ‘जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सिंहराज डाँगी आउने टुंगो लागिसक्यो, अब एक दुई दिनभित्रमा हाजिर हुन उहाँ आउनु हुन्छ, हामी उहाँलाई स्वागत गर्नेछौं,’ यादवले भन्नुभयो ।
डाँगीलाई जानकी गाउँपालिकामा आउन गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायत जनप्रतिनिधीले सहमती दिइसकेका छन् । यसअघि जानकीमा रहेका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाको अन्यत्र सरुवा भइसकेको छ ।
