नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको ५८ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम बिहीवार नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
कार्यक्रममा माननीय मिना कुमारी श्रेष्ठ, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्व महासचिव अजय टण्डन, तारा कुमारी खत्री, संघका प्रेस सल्लाहकार शंकर प्रसाद खनाललगायत उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संघको नेतृत्व गर्दै योगदान पु¥याएका चार जना पूर्वअध्यक्षलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, कन्हैयालाल टण्डन र सतिशचन्द्र अग्रवाल रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाइ नेपाली टोपी लगाएर सम्मान गरिएको हो । कार्यक्रममा संघको ५८ वर्षे यात्रालाई स्मरण गर्दै “५८औँ वर्ष” अंकित केक काटेर स्थापना दिवस मनाइएको थियो ।
प्रमुख अतिथि मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आफ्नो घरसरहको संस्था भएको उल्लेख गर्दै यहाँ आउँदा गर्वको अनुभूति हुने बताउनुभयो । उहाँले संघमा चार कार्यकाल काम गरेको अनुभव स्मरण गर्दै उद्योगी–व्यवसायीको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिमानाका क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि आफू निरन्तर प्रयासरत रहेको बताउँदै उहाँले व्यावहारिक कठिनाइप्रति सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
मन्त्री अग्रवालले सिमानामा नेपाल प्रहरीबाट हुने व्यवहारप्रति असन्तुष्टि जनाउँदै कानुन कार्यान्वयनमा एकरूपता नदेखिएको गुनासो गर्नुभयो । ५ हजार डलर बोकेर हिँड्न पाइने व्यवस्था भए पनि व्यवहारमा लागू नभएको र भारतीय नम्बर प्लेटका सवारी साधन देख्नेबित्तिकै ट्राफिक प्रहरीको दृष्टिकोण फरक हुने गरेको उहाँको भनाइ थियो । यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी सुधारको पहल गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालगन्ज उद्योग वाणिज्य संघले विगत ५८ वर्षदेखि उद्योग, व्यापार र व्यवसायको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव भीम रानाभाटले गर्नुभएको थियो । स्थापना दिवस कार्यक्रमले उद्योगी–व्यवसायीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

