नेपालगन्ज : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एघारौं वार्षिकोत्सव समारोह शुक्रवार सम्पन्न गरेको छ । श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालयका तालिम तथा जनशक्ति विभागका विभागिय प्रमुख तथा सञ्चालन तथा सुपरिवेक्षण कार्यालयका फोकल पर्सन खगेन्द्र प्रसाद अर्यालको प्रमुख आतिथ्यता ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. सञ्चालन तथा सुपरिवेक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख धन प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको हो ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि अर्यालले मन्तव्यका क्रममा संस्थाले कर्मचारी र ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि र सामाजिक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी आफ्नो व्यवसायिक गतिविधिलाई सुदृढ बनाउन लागेको विचार व्यक्त गरेका थिए ।
नेपालगन्ज अन्तर्गतको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था खजुरा शाखालाई उत्कृष्टका रुपमा नगद सहित सम्मान पत्र शाखाका प्रबन्धक बासु देब रेग्मीलाई प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रमा स्व–रोजगारको अवसर सिर्जना गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै संस्था नाफा मुखीमात्र नभएर सेवामुखी भावनाले समेत विभिन्न कार्यहरू गरिरहेको कार्यक्रमका सभापति तिवारीले बताएका छन् ।
संस्थाको बाँकेमा संचालन तथा सुपरिवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ३० वटा शाखा कार्यालयहरुबाट छनोट गरिएका ३० जना उत्कृष्ट महिला सदस्यहरुलाई जनही दश हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान ग¥यो । यस कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै महिला सशक्तीकरणमा योगदान पु¥याउने संस्थाको प्रतिबद्धता झल्काएको छ । कार्यक्रममा सहभागी सदस्यहरुलाई दूरी अनुसार यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो ।
नेपाल सरकारको ३० प्रतिशत भन्दा बढि लगानी रहेको साविकका क्षेत्रीय स्तरका पाँचवटा ग्रामीण विकास बैंकहरू मर्जर भई बनेको राष्ट्रियस्तरको (घ) वर्गको यस ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७१ साउन ३० गते देखि एकिकृत वित्तीय कारोवार शुरु गरी लघुवित्त सेवा उपलब्ध गराएको छ । देशभरका कुल ७५३ वटा स्थानीय तह मध्ये ३ सय ६९ वटा स्थानीय तहमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेवा पुगेको छ ।
हालसम्म यस वित्तीय संस्थाको कार्यक्रम ५६ वटा जिल्लामा रहेको र शाखा कार्यालयको संख्या १ सय ८९ वटा रहेको छ । विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा यस संस्थाका सञ्चालन तथा सुपरिवेक्षण कार्यालय रहेका छन् । संस्थाले नेपालको ग्रामीण दूरदराजका विपन्न तथा पिछडिएका वर्गमा वित्तीय पहुँच पु¥याई उनीहरूको आर्थिक, सामाजिक क्षेत्रको सवलिकरण र राष्ट्रको गरिबी न्यूनीकरणमा प्रत्यक्ष सहयोग पु¥याउँदै आइरहेको छ ।
गरिबीलाई न्यूनीकरण गर्न ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको एवम् लघुवित्तको क्षेत्रमा वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी ढंगले आफ्नो व्यवसाय विस्तार÷सुधार गर्नु पर्ने बताए । संस्थाकी उप प्रबन्धक लक्ष्मी कुमारी पौडेलले कार्यक्रम संचालन तथा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा संस्थाका प्रतिनिधि, महिला सदस्य, कर्मचारी लगायत संचारकर्मी सहितको उपस्थिति थियो ।
