नेपालगन्ज : सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उदघाटन गर्नुभएको छ । नेपालगन्ज रंगशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेला उदघाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि नबढ्ने बताउनुभयो । उहाँले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
विज्ञान र प्रविधिको विकासका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुका साथै सबैलाई अवसर पनि प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले सञ्चार मन्त्रालयमा प्रविधि पनि जोडिएकाले अब मन्त्रालयले साइन्स र प्रविधिसँग जोडिएका अग्रजहरूलाई उचित सम्मान र मूल्याङ्कन गरिने मन्त्री शर्माले बताउनुभयो ।

संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले अहिलेको विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने मेलामा विभिन्न विद्यालयका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टलहरू राखिएको हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताउनुभयो । उहाँले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामाग्री प्रदर्शनका लागि राखिएको जानकारी दिनुभयो । क्याप्सन बाँकेका अध्यक्ष यम रावत, एम्बिसन गुरुका महानिर्देशक दिनेशराज कार्कीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विज्ञान मेलामा बाँकेका विभिन्न विद्यालयका हजारौं संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
