नेपालगन्ज । थारु समुदायका अगुवाहरुले नेपालगन्जमा गुरिया पर्व मनाउने तयारीमा जुेटका छन् । शनिवार बसेको थारु कल्याणकारिणीका नगरसभा नेपालगन्जको बैठकले नेपालगन्जमा गुरिया पर्व मनाउने निर्णय गरेको हो । नगर सभापति बासमति थारुले नागपञ्चमीका दिन थारु समुदायले मनाउने गुरिया (गुरही पर्व) पर्वमा गाउँ वा नगरको चोकमा गुरही पिटेर मनाउने बताउनुभयो ।
गुरिया पर्वको अवसरमा शुभकामना अदानप्रदान तथा स्थानीय तहमा निर्वाचित बाँकेका ८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा थारु जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सभापति बासमतिले जानकारी गराउनुभयो । यही साउन १७ गते नेपालगन्जको स्वास्तिक कटेज धम्बोझीमा २ बजेबाट कार्यक्रम संञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा थारु भेषाभुषामा गुरही पिट्ने र थारु परिकारका साथ, संस्कृति कार्यक्रम समेत आयोजना गरिएको नगर सचिव शम्भु थारुले बताउनुभयो । कार्यक्रममा थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारु, थारु महिला सभाका केन्द्रिय सदस्य ललिता थारु, थारु कर्मचारी संघ बाँकेका अध्यक्ष जित बहादुर थारु, थारु पत्रकार संघ बाँकेका अध्यक्ष हेमन्त चौधरी, नेपाल आदीबासी जनजाति पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारु, अगुवा तथा बुद्धिजीवी जगदीश थारु र लक्ष्मण थारुको सहभागिता रहेको थियो ।
