नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका बालविवाह मुक्त भएको दिनमै बालविवाह भएको छ । खजुरा गाउँपालिका यही फागुन ३ गते भव्य समारोहका विच बालविवाह मुक्त पालिका घोषणा गरेको दिन नै बालविवाह भएको छ । यता खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा गरिदै थियो भने उता दिउसै बालविवाह भैरहेको थियो एक जना स्थानियले भन्नुभयो । बर्दिया ठाकुरबाबा नगरपालिका ठाकुरद्धारा स्थाई घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझी बस्ने ३८ बर्षका संगम कुमार विकसंग खजुरा गाउँपालिकाका एक १४ बर्षिय किशोरीसंग बालविवाह भएको हो ।
खजुरा कै एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत किशोरीलाई इच्छा विपरित जवरजस्ती बालविवाह गरिएको थियो । फागुन ३ गते विवाह गरियो, ४ गते नेपाल बन्द भएको हुनाले विद्यालय जान ति किशोरीले पाएनन् र ५ गते विद्यालय खुलेपछि विद्यालय पुग्ने वित्तिकै शिक्षकहरुसंग रुदै आफ्नो गुनासो पोखेपछि घटना वाहिर आएको एक शिक्षकले भन्नुभयो । ५ गते नै किशोरीले खजुरा स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता दिनुभएको थियो ।
३८ बर्षका पुरुषले बालविवाह गरेको सार्वजनिक भएपछि पुरुष बिक अहिले फरार हुनुहुन्छ । पुरुषले किशोरीलाई नर्सिङ बढाईदिने, बुवाआमा माथि लागेको ऋण सम्पुर्ण तिरिदिने जस्ता प्रलोभन दिइ आफु कानुनको कठघराबाट जोगिन किशोरीका घरपरिवारलाई ललाई फकाई गर्न खोजिएको स्थानियको भनाई छ । निज विकको पहिलेको श्रीमतिसंग सम्बन्धविच्छेड भएको थियो भने पहिलेकै श्रीमतिबाट एक छोरा समेत बिकसंगसंगै रहेको स्थानियले जनाएका छन् ।
यता इलाका प्रहरी कार्यालय खजुरका इन्चार्ज बसन्त आचार्यका अनुसार घटनाको अनुसन्धान भैरहेको जानकारी गराउनुभयो । किशोरीले दिएको निवेदनका आधारमा किशोरीको आमालाई पक्राउ गरि सोधपुछ गरेर छोडिएको उहाँले जानकारी गराउनुभयो । जबरजस्ती बालविवाह गराउन संलग्न आफन्तहरुको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।
बालविवाह गरे मुलुकी अपार संहिता २०७४ दफा १७३ बमोजिम विवाह सम्बन्धि कसुर अथवा ३ बर्ष कैद तथा ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ । यस्तै ३८ बर्षिय पुरुष संगम कुमार बिकसंग यस विषयमा जानकारी लिन खोज्दा उहाँको मोबाईल नं. स्विचअफ गरिएको थियो ।
बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार खजुरा गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको थियो । गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह मुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाई छ ।
गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालविवाह अन्त्य सम्बन्धि रणनीति, बालअधिकार समिति गठन सम्बन्धि कार्यविधि, बालसंरक्षण नीतिलाई टेकेर गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशिल रहेकोकाले पालिकालाई बालविबाह मुक्त पालिका घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले बताउनुभयो । फागुन ३ गते खजुरामा बालविवाह भएको भन्ने बारे आफुलाई जानकारी नभएको अध्यक्ष कक्षपतिले जानकारी गराउनुभयो । बाँकेका ८१ वडामध्ये हालसम्म ४३ वडा बालविवाहमुक्त घोषणा भईसकेका छन् । डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका भने बालविवाह मुक्त घोषणा हुन बाँकी रहेको छ ।
