(Saturday 25th of July 2026)
`

चार दशकको थर्मस चिया !

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    काठमाण्डौं – चार वटा थर्मस । थर्मस पिच्छेको अलग स्वामित्व । अलग स्वामित्व भएपछि अलग हिसाब । अलग, अलग हिसाबका लागि अलग अलग ट्वाक । यो सबैको संयोजक भने सङ्गीता श्रेष्ठ । यसमा सङ्गीताको पनि एउटा थर्मस छ । जसमा करिब÷करिब २५ कप दूध चिया अट्छ । अरुमा पनि अन्दाजी त्यस्तै २०÷२५ कप अट्छ । तीन वटा थर्मसमा दूध चिया छ भने एउटामा कालो चिया ।
    यो कथा हो वसन्तपुर दरबारको दक्षिणतिर रहेको नेपाल संस्कृत विश्वविद्यालयको टेकोले थामेको भवनको आडमा रहेको थर्मस चिया पसलको, जसले सफलतापूर्वक चार दशक पार गरिसकेको छ । करिब ४० हाराहारीकी श्रेष्ठ आफूले थाहा पाएदेखि नै यहाँ चिया पसल रहेको बताउनुहुन्छ ।
    आफ्नो बाहेक अरु बाँकी तीन वटा थर्मसको चिया बेचिदिने र हिसाब राख्ने दायित्व पनि श्रेष्ठकै हो । कारण अन्त बस्ने ठाउँ त्यति सहज छैन । उहाँकोमा भने साना÷ठूला गरेर करिब आठ÷दशवटा प्लास्टिकका साना साना बस्ने टुल छन् ।
    दूध चिया धेरै जाने कारणले तीन वटा थर्मसमा र कम जाने भएका कारण एउटा थर्मसमा भने कालो चिया छ । दूध चियाको २५ रुपैयाँ तथा कालो चियाको २० रुपैयाँ पर्छ श्रेष्ठकोमा ।
    अरुको थर्मसको चिया बेचेबापत उहाँलाई केही प्राप्त हुँदैन । ‘यहाँ सबैले मिलेर काम गरिखाउन भनेर राखिदिएको हो । बरु हिसाब–किताब मिलेन भनेर झगडा पो गर्न आउँछन,’ भिन्न भिन्न थर्मसका हिसाब राख्ने भिन्न भिन्न ट्वाक देखाउँदै श्रेष्ठ भन्नुहुन्छ ।
    अहिले जाडोमा उहाँको पसलमा आगो ताप्दै चिया पिउने सुविधा समेत छ । पसल बिहान ९–१० बजेदेखि सुरु हुन्छ । बिहान चाँडैदेखि चिया बेच्न पाए धेरै बिक्री हुन्थ्यो भन्ने सङ्गीताको चाहना छ । तर, त्यो सुविधा नगर प्रहरीले दिएका छैनन् ।
    बिहान चाँडैदेखि चिया बेच्न नपाए पनि बेलुका भने अहिले जाडोको समयमा ७ र गर्मीमा ८ बजेसम्म चिया पसल चल्छ । ‘अलि रात परेपछि जाँड खाएर केटाहरु झगडा गर्न थाल्छन् अनि के राख्नु पसल !’ श्रेष्ठ भन्नुहुन्छ ।
    हुनत नगर प्रहरीले त्यहाँ पसल राख्ने अनुमति दिएको होइन । विश्वविद्यालयको पालेलाई केही रकम बुझाएर श्रेष्ठलाई त्यहाँ पसल राख्ने सुविधा प्राप्त भएको छ त्यसको हिसाब किताब विश्वविद्यालयको बहीमा चढ्ने देखिँदैन किनकि त्यहाँ पैसा बुझाए बापत कुनै रसिद उहाँलाई दिइएको छैन ।
    बरु नगर प्रहरीले बेला बेला उहाँको पसलका सामान जबरजस्ती लिएर जान्छन् । फिर्ता दिएको उहाँलाई थाहा छैन । ‘खोइ लगेर के गर्छन थाहा छैन’ अनभिज्ञता प्रकट गर्दै श्रेष्ठ भन्नुहुन्छ, ‘माग्न जाँदा हामीलाई दिँदैनन् ।’
    चारपाटे एउटा काठको फलेक । फलेकलाई पानी तथा चिसोबाट जोगाउन राखिएका केही इँटा । यीनै इँटामाथि सुरक्षित रहेको फलेकामाथि सुरक्षित फैलिएको छ उहाँको पसल ।
    एक कार्टुन पानी । चाउचाउ । कुरकुरे, चिप्स, केही बिस्कुट, बेकरी आइटमका पप, कुकिज, चुरोट अनि यस्तै खित्रिङ, मित्रिङले भरिएको छ पसल । कति लगानी हो भन्ने बारेमा उहाँलाई खुल्न अप्ठेरो लाग्यो । थर्मसबाट कागजका कपमा चिया खन्याउँदै दैनिक व्यापारका बारेमा भने सहजै भन्नुहुन्छ, ‘दिनको तीन÷चार हजार हुन्छ । जात्रा, पर्वका बेला पाँच, छ हजारसम्म हुन्छ ।’
    यसमा खर्च कटाएर नाफा कति हुन्छ त्यसको हिसाब भने कति हुन्छ थाहा छैन । पसलमा बसे पनि यसका धेरैजसो हिसाब आमाकै हुन्छ । अहिले आमालाई निमोनियाले च्यापेपछि भने यो पसलको सबै जिम्मेवारी उहाँमा आइपरेको छ ।
    यहाँबाट नजिकै करिब दश मिनेटको पैदल दूरीमा भिमसेनस्थानमा छ उहाँको कोठा । दुई वटा कोठाको दश हजार तिर्नुपर्छ । पसल भएका ठाउँमा चिया बनाउने ठाउँ छैन । त्यसैले चिया कोठाबाटै बनाएर थर्मसमा लेराउनुपर्छ । चिया बेचेर सकियो भने फेरि बनाउन कोठा पुग्नुपर्छ । दिनमा बिहान र बेलुका गरेर दुई पटक चिया बनाउन कोठामा त पुग्नै पर्छ । कहिलेकाहीँ धेरै बिक्री भएको बेला भने अलि दौडधुप हुन्छ । ‘थर्मसको चिया मान्छेलाई त्यति मन नपरे पनि यहाँ पकाउने ठाउँ नभएर बाध्यता भएर खान्छन’ श्रेष्ठ भन्नुहुन्छ, ‘यसले मेरो व्यवहार टरेको छ ।’
    २०७२ सालको भूकम्पले मक्किएको र जीर्ण बनाएको विश्वविद्यालयको भवनलाई कहिलेसम्म टेकोले थाम्ला यसबारेमा त विज्ञहरु नै बढी जानकार होलान् । तर, पुनर्निर्माणको काम सुरु भएका दिन ४ दशककोे थर्मसको चिया पसल र रोजिरोटी के हुने भन्ने बारेको चिन्ताले भने अहिलेदेखि सताउन थालेको छ श्रेष्ठलाई ।
    (उज्यालो अनलाइनबाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology