नेपालगन्ज, माघ २४ – नेपालगन्ज उपमहानर उपामहानगर पालिकाले कान्जी हाउसमा थुनेर राखेको गाई गोरुमा जटिल कुपोषण देखिएको छ । सडकमा छाडा छोडिएका १ सय ७६ बस्तुभाउलाई नेपालगन्ज–२१, बिर्तामा कान्जी हाउस बनाएर राखेको हो । यहाँ बस्तुभाउलाई राख्न टहरा पर्याप्त छैनन् । खानाका लागि भुसमात्रै दिने गरिएको छ । घाँसको नामोनिसानै छैन । चिसोमा जनावर खुला आकाशमुनि गोबरमै बस्न बाध्य छन । कुपोषणसँगै उनीहरूलाई किर्ना, फित्ते जुकालगायतका परजीवीले सताएका छन ।
थला परेका जनावरको नाक, कानलगायत शरीरका विभिन्न भागमा कागले ठुँगेर रगताम्य बनाई दिन्छन । ‘हामी कान्जी हाउस पुग्दा दुईवटा बाच्छाबाच्छी बेहोसी अवस्थामा थिए । नाकबाट रगत बगिरहेको थियो । यहाँका गाईबस्तुको अवस्था निकै दयनीय देखियो,’ स्ट्रिट एनिमल रेस्कियु, नेपालगन्जका आशिषकुमार चौधरीले भन्नुभयो, ‘नगरपालिकाले थुनेर राखेका गाईबस्तु सबैजसो बिरामी छन ।’ उहाँले नगरपालिकाले गाईबस्तुलाई यातनागृहमा राखेको बताउनुभयो । ‘नगरपालिकाको ध्यान तत्काल कान्जी हाउसमा परोस्,’ उहाँले भन्नुभयो ।
भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र नेपालगन्जका पशु स्वास्थ्य सेवा अधिकृत सुरदकुमार भट्टराईले कान्जी हाउसमा रहेका सबै गाईबस्तुमा कुपोषणको ठूलो समस्या रहेको बताउनुभयो । कुपोषणकै कारण जनवारहरू रोगी भएको उहाँले जनाउनुभयो । ‘भुसको भरमा गाईबस्तु रहेको देखियो । उनीहरूमा फित्ते जुकाको ंसंक्रमण पनि छ । सरसफाइ नभएर फोहोरमा बस्दा रोग लाग्ने नै भयो,’ उहाँले भन्नुभयो, ‘बिरामी जनावरको उपचार गरेर मात्रै हुँदैन, पहिलो कुरा खानाका लागि घाँस र भुसाको आवश्यकता यहाँ छ ।’
खान नपाएर बिरामी गाईबस्तु दुब्लाएर करङमात्रै देखिन्छ । राम्ररी हिंडडुल गर्न सक्दैनन । उठ्न नसकेर बेहोसी अवस्थामा मर्छन । कान्जी हाउसका इन्चार्ज राकेश भारतीले नगरपालिकाले उपलब्ध गराएको सुविधाका आधारमा गाईबस्तुलाई भुसा, पानीको व्यवस्था मिलाउने गरेको बताउनुभयो । उहाँले त्यहाँ रहेका गाईबस्तुको संख्याको अनुपातमा बस्ने टहरा उपलब्ध नभएको जनाउनुभयो । ‘नगरपालिकाले जे उपलब्ध गराउने हो, त्यही अनुसार सेवा गर्ने हो,’ उहाँले भन्नुभयो । रोगी गाईबस्तुको अवस्था देखेर जनावरका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूले कान्जी हाउसमै पुगेर स्वास्थ्य शिविर गर्नुभयो । उनीहरूले बिरामी गाईबस्तुको निःशुल्क परीक्षण गरेका छन् । पोषणका लागि भेली, चना खुवाइएको छ । इकान्तिपुरबाट ।
