(Saturday 25th of July 2026)
`

नेपालमै पहिलो आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालन

  • सगरमाथा गन्तब्य
  • 15.5K
    SHARES

    पवन जयसवाल – नेपालगन्ज  : आँखाको शल्यक्रियाको लागि देशमै पहिलो पटक नेपालगन्जमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष निर्माण गरिएको छ । नेपालगन्जको भिजन आँखा अस्पतालले नयाँ प्रविधि थपेर स्तरोन्नति गर्दै आँखाको शल्यक्रियाका लागि मोडुलर शल्यक्रिया सेवा उपलब्ध गराउनका लागि उक्त नयाँ कक्ष निर्माण गरेको हो ।  भिजन आँखा अस्पतालले बुधवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमले उक्त नयाँ सेवा बारे पत्रकारहरुलाई जानकारी गराउँदै देशभर भएका आँखा अस्पतालहरुमा हामीले पहिलो पटक अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) निर्माण गरेका हौं । तर, नयाँ खुलेका जनरल अस्पतालहरुमा भने यो मोडुलर अप्रेशन थियटर निर्माण गरिएको छ । नेपालका पुराना र ठुला आँखा अस्पतालहरुमा पनि मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) छैन डा. गौतमले भन्नुभयो ।
    वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार अहिलेसम्म दैनिक २० देखि २५ वटा आँखाको विद्यमान शल्यक्रिया कक्ष (अप्रेशन थियटर) बाट शैल्यक्रिया गर्ने क्षमता रहेकोमा अब दुई वटा मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) बाट दैनिक एक सय जनाको शल्यक्रिया गर्न सक्ने गरी क्षमता विस्तार गर्दै स्तरोन्नति गरिएको छ । मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) निर्माण महँगो प्रविधि भएकोले सामान्य अप्रेशन थियटरबाट काम भइरहेको बताउँदै वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. गौतमले यो प्रविधिबाट मुख्य रुपमा अस्पतालमा शल्यक्रिया पछि हुने संक्रमणबाट विरामीको आँखालाई जोगाउन सकिने भएकोले निर्मलीकरणका लागि पनि विशेष व्यवस्था गरिएको डा. गौतमले बताउनु भयो ।
    डा. गौतमले आँखा सम्बन्धी कुनै पनि समस्या सम्भव भएसम्म नेपालगन्जमै उपचार हुने गरी हामी काम गरिरहेका छौं । आँखा उपचारको लागि नेपालको राजधानी काठमाडौं वा छिमेकी मुलुक भारतमा जानु पर्ने वाध्यताको अन्त्य गराउने हाम्रे उद्देश्य हो भन्दै उहाँले भिजन आँखा अस्पतालमा अहिले दैनिक आठदेखि दश वटा जनाको आँखाको शल्यक्रिया भइरहेको जानकारी दिनु भयो ।
    छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि दैनिक आउने विरामीहरुलाई सेवा दिंदै आएको भिजन अस्पतालमा खासगरी जलविन्दु, मोतियाविन्दु र दृष्टि पर्दाको समस्या भएका विरामीहरु शल्यक्रियाका लागि आउने गरेको डा. गौतमले जानकारी दिनुभयो । उहाँले सकेसम्म आफ्नै अस्पतालमा राम्रो र स्तरीय उपचार सेवा दिने, नसके राम्रो परामर्श दिएर जिल्ला बाहिरका अन्य अस्पतालहरुमा रिफर गर्ने गरिएको बताउनु भयो ।
    अस्पतालका प्रवन्ध निर्देशक बावुतरुण गौतमले २०७५ साल माघ २७ गते नेपालगन्जको मुख्य केन्द्र सुर्खेतरोड स्थित नेपालगन्ज मेडिकल कलेजको सामुन्ने १५ शैया क्षमताबाट शुरु गरिएको भिजन आँखा अस्पतालमा अहिले करीब ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमि मोडुलर गरी २ वटा शल्यक्रिया कक्ष (अप्रेशन थियटर) अस्पतालको दोस्रो तल्लामा निर्माण गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार आगामी आइतवारदेखि मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) मार्फत नयाँ सेवा सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ । उक्त कामका लागि भारतीय प्राविधिकले युद्धस्तरमा काम गरिरहेका छन् । अस्पतालमा जनरल वार्डका विरामीलाई शैया निःशुल्क उपलब्ध गराइएको छ । अस्पतालले ३ वटा स्पेशल क्याबिन बनाइरहेको प्रवन्ध निर्देशक गौतमले बताउनु भयो ।
    उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पूर्णलाल चुकेले केही वर्ष पहिलेसम्म पििश्चम नेपालका नेपालीहरु आँखाको उपचारका लागि भारतको सीतापुरमा जानु पर्ने वाध्यताको केही वर्षदेखि नेपालगन्जमै खोलिएका आँखा अस्पतालहरुले दिंदै आएको सेवाका कारण अन्त्य भएको बताउनु भयो । बाँकेमै जन्मिएका वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमले पर्याप्त तलब, सेवा सुविधा समेत पाएको जागीर त्यागेर आफ्नै ठाउँमा भिजन आँखा अस्पताल सञ्चालन गरेर स्तरोन्नति गर्दै उपचारका लागि गरिरहेको गुणस्तरीय सेवाको विस्तारले अस्पतालप्रतिको जनविश्वास बढाउँदै गएको पत्रकार चुकेले बताउनु भयो ।
    उल्लेखनीय छ, डा. प्रचण्ड गौतमका बुवा सुप्रसिद्ध कविराज बाबुराम गौतम र उहाँकी आमा महेश्वरी गौतमले विगत पाँच दशकदेखि बाँकेको खजुरा गाउँपालिका वडा नं. १ सितापुर के गाउँमा आफ्नो स्वास्थ्य केन्द्रबाट निःशुल्क चिकित्सकीय सेवा दिइरहनु भएको छ । सुप्रसिद्ध कविराज बाबुराम गौतम लुम्विनी प्रदेशका साँसद् तथा भेरी अञ्चलका पहिलो कम्युनिष्ठ हुनुहुन्छ । भिजन आँखा अस्पतालमा डा. प्रचण्ड गौतम बाहेक दुई जना काठमाडौं र भैरहवाबाट आँखा रोग विशेषज्ञ, २ जना स्थायी रुपमा आँखा रोग विशेषज्ञ, आँखा, प्रयोगशाला, एक्सरे सम्बन्धि ३ जना प्राविधिक लगायत २५ जना कर्मचारी कार्यरत छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology