नेपालगञ्ज,- सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ । उहाँले सीमा नाकामा रहेका सबै बोर्डर आउट पोस्टको निरिक्षण गरेर समग्र अवस्था बारे जानकारी लिंदै तस्करीलाई शुन्यमा पुरयाउने उद्देश्यले काम गर्न मातहतलाई निर्देशन दिनु भएको हो ।
एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ । सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको जयसपुरस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना सामान, फलफुल, तरकारी लगायतका अन्दाजी मुल्य २ लाख २० हजार बराबरको सामान बरामद गरेको छ ।
