नेपालगन्ज : मन्दिर परिसरबाट मुर्ती चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा वडा नं. १ बस्ने २५ बर्षका असरफ बागवानको साथबाट विभिन्न किसिमका सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फेला पारीएको सामान र बागवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ । बागवानको साथबाट भगवानको मुर्ती ३ थान, घण्टी ५ थान, नाग देवताको मुर्ती २ थान, तामाको लोटा ४ थान, त्रिशुल ३ थान, आरती १ थान, पाला छोप्ने ढक्कन ८ थान, पाला २ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्रि १ थान, सानो आरी १ थान, रिन्च १ थान सामान बागवानको साथबाट फेला परेको हो ।
