नेपालगन्ज : बाँकेको नेपालगन्ज भन्सार नजिक रहेको निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आई.सी.पी) निर्माण कार्य सुस्त गतिमा भैरहेको छ । पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा निर्माण हुदै आएको एकिकृत भन्सार जाँच चौकी भारत सरकारको सहयोगमा बन्दै गरेको प्रोजेक्ट (आई.सी.पी) को निर्माण कार्य सुस्त भएको हो ।
निर्माण सुरु भएको नौ महिना बितिसक्दा १५ प्रतिशत कार्य सम्पन्न भएको एक स्रोतले जनाएको छ । भारत सरकारको दुई अरब ३५ करोड लागतमा आई.सी.पी निर्माण अगाडी बढेको हो । २०७७ फागुनमा निर्माण कार्य सुरु गरेको आगामी २०७९ जेठमा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणको गति हेर्दा आगामी सात महिनामा प्रोजेक्ट सम्पन्न हुनेमा शंका रहेको छ ।
प्रोजेक्ट सन २००५ मा नेपाल—भारत सरकार बीच सम्झौैता भएको थियो । सम्झौता भएको १५ वर्ष पछि निर्माण कार्य सुरु भएको हो । भारत सरकारले आई.सी.पी निर्माण गरेर नेपाल सरकारलाई हस्तान्त्रण गर्ने कार्यान्वयन स्वरुप भैरहवा, बीरगञ्ज, बीराटनगर र नेपालगञ्ज गरि चार ठाँउमा सम्झौता भएको हो । जस मध्ये बिराटनगर र बीरगञ्जमा निर्माण भएर चालु अवस्थामा रहेको छ । नेपालगञ्जमा गत वर्ष असोज महिनामा सम्झौता भएर अहिले निर्माणधिन अवस्थामा रहेको नेपाल सरकार शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले जनाएको छ ।
संघिय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी होमनाथ भुसाल अनुसार कोभिड १९ संक्रमणका कारण प्रभावित भएको आयोजना बर्खामा पानी जमेर झन बढी प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुवात अवस्थामा उनीहरुलाई लामबन्दी गर्नै २—३ महिना लाग्यो । त्यस पछि निर्माण कार्य रफतारमै सुरु भए पनि कोभिड १९ संक्रमणको दोस्रो भेरियन्ट कारण कार्य ठप्प भएको थियो । कोभिड १९ संक्रमण कम भए पनि फेरी बर्खाले निर्माण कार्य प्रभावित पार्यो । निर्माण गर्ने ठाँउमा पानी जमेको र थप काम गर्न कठिन भएको उहाँले बताउनुभयो ।’

निर्माण कार्य चलिरहदा अनुगमनमा समेत पुगेका भुसालले निर्माण कम्पनीले कोभिड १९ र बर्खाको कारण देखाउँदै समय थप गर्न भारत सरकारलाई अनुरोध गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले भारत सरकारसंग कार्य बिस्तार समय थप गर्न माग गरिरहेको छ । चार महिना थप भयो भने १६ महिनामा कार्य सम्पन्न गर्ने उनीहरुले बताएका छन् ।’
बजेट, कम्पनी र सूपरभिजन गर्ने सल्लाहकार भारत सरकारको भए पनि नेपाल सरकारको सहरी बिकास मन्त्रालयको निर्देशन अनुसार आफुहरुको सहजिकरण गर्ने दायित्व रहेको भुसालले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘करिब एक महिना अगाडी निर्माण कम्पनीले १५ प्रतिशत कार्य सम्पन्न भएको बताएको थियो अब रफ्तारमा १६ महिनाको समय अवधिमा कार्य पूर्णरुपमा सम्पन्न गर्ने कम्पनीले बताएको छ ।’
कोरोना संक्रमणका कारण नेपालगन्ज लगायत भारतको सीमासंग जोडिएको अन्य सिमानाका ठप्प हुदाँ समयमै सामाग्री आयात गर्न नसक्दा निर्माण कार्य गति लिन नसकेको निर्माण कम्पनीले जनाएको छ । कोभिड संक्रमणसंगै बर्खामा फाउन्डेसन तयार गर्न माटो पटान लगायतका कार्यमा कठिनाई भएको थियो । आई.सी.पी. निर्माण स्थल र नेपालगञ्जको चौलिक्का स्थित सुर्खेतरोड जोडने दुई किलोमिटर दुई सय मिटर लम्बाई र ६० मिटर चौडाई रहेको सडक १२ मिटरको ग्रावेल गरिएको छ ।
त्यस्तै ठूला ठूला बिल्डीङ निर्माणका लागि फाउन्डेसन गर्ने तयारी भईरहेको छ भने फाउन्डेसन सम्पन्न भईसकेकालाई माटो पटानका कार्य भईरहेको भारत तर्फबाट निर्माण स्थलमा खटिएका इन्जिनियरले बताउनुभयो । एकिकृत भन्सार जाँच चौकी निर्माण भएपछि स्थानिय व्यापार व्यवसायमा सहज हुने व्यवसायीहरुले बताउछन् । निर्माण सम्पन्न भएपछि व्यवसायीहरुलाई छिटो र सहज तरिकाले आयत तथा निर्यात हुने उनिहरुले बताउछन् ।
