नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा यही पुष २८ गते एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाँकेको आयोजना, नेपालगन्ज उपमहानगरपालिका कमिटिको व्यवस्थापन तथा क्यान्सर हस्पिटल खजुराको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो । क्यान्सर रोग सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण एंव औषधी वितरण कार्यक्रम बाँके लगायत अन्य जिल्लाका नागरिकले समेत स्वास्थ्य सेवा लिन सकिने नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष दत्त प्रसाद आचार्यले जानकारी गराउनुभयो । क्यान्सर सम्बन्धि विशेषज्ञ डाक्टरद्धारा चेकजाँच गरिने भएको हुनाले लाभ लिन सकिने नगर अध्यक्ष आचार्यले जानकारी गराउनुभयो । निशूल्क चेकजाँचका साथै औषधी पनि उपलब्ध गराउने र गम्भीर बिरामीलाई सम्बन्धित क्यान्सर अस्पतालमा रिफर गरिने उहाँले जानकारी गराउनुभयो । शिविरमा महिलाको स्तन, पाठेृघर, मुखको क्यान्सर तथा पुरुषसंग सम्बन्धित क्यान्सर रोग लगायत समग्र क्यान्सर रोगको परिक्षण तथा पुराना विरामीहरुका लागि फ्लोअप कार्यक्रम समेत हुने आयोजक कमिटि नेकपा एमाले नगर कमिटिले जानकारी गराएको छ । निशुल्क स्वास्थ्य परिक्षणमा डाक्टर साजन थापाको नेतृत्वमा करिब २० जनाको टोलीले उपचार गर्ने व्यवस्था मिलाएको नेकपा एमाले नगर कमिटिले जनाएको छ ।
